‘एक्लो’ मा विकेन प्रदीपको स्टाडम, एक हप्ते कमाइ साह्रै कम
काठमाडौं । नेपाली सिनेमामा एउटा फरक विधा (साइन्स फिक्सन) भित्र्याउने आँट गरेका निर्देशक प्रदीप शाहीको चलचित्र ‘एक्लो’ले बक्स अफिसमा भने सोचेजस्तो जादु देखाउन सकेन । ठूलो बजेट र चलेका कलाकारहरूको उपस्थिति भए तापनि चलचित्रले दोस्रो सातासम्म आइपुग्दा निकै निराशाजनक व्यापार गरेको छ ।
निर्माण घोषणा हुँदा ठुलै सफलता सम्भावनाको बाचा गरेको ‘एक्लो’ ले हलमा लागेको १० दिनको अवधिसम्म निकै न्यून व्यापार गरेको छ । यो चलचित्रले घरेलु बक्स अफिसमा ५० लाखको आँकडा समेत पार गर्न सकेको छैन ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको ‘सिनेपाः बक्सअफिस’ विवरण अनुसार प्रदर्शनको १० दिनमा ‘एक्लो’ ले ४३ लाख २५ हजार ४९८ रुपैयाँ (ग्रस) मात्रै कमाउन सफल भएको छ ।
१ जनवरीबाट प्रदर्शनमा आएको यो चलचित्रले १० जनवरी (शनिबार) सम्मको तथ्यांकमा जम्मा १३ हजार ११ वटा टिकट मात्रै बिक्री गर्न सकेको छ ।
प्रदीप खड्का, विजय लामा र दिनेश डीसी जस्ता स्थापित अनुहारहरु पर्दामा हुँदा पनि चलचित्रले दर्शकलाई हलसम्म तान्न संघर्ष गर्नु परेको तथ्यांकले देखाउँछ ।
नेपाली चलचित्रमा ‘एलियन’ र ‘भविष्यको कथा’ भनिएको ‘एक्लो’ लाई लिएर निर्माण पक्ष निकै उत्साहित थियो । विशेषगरी अभिनेता प्रदीप खड्काको उपस्थितिले पनि चलचित्रले बक्स अफिसमा ठूलो हिस्सा ओगट्ने अपेक्षा गरिएको थियो ।
‘प्रेमगीत’ सिरिजबाट नेपाली दर्शकको मन जितेका अभिनेता प्रदीपलाई दुई वर्षयता व्यावसायिक सफलताले साथ दिएको छैन । २०८१ सालमा प्रदर्शन भएको ‘पूजार सार्की’ पछि उनी लगातार व्यावसायिक असफलताको सामना गरिरहेका छन् । प्रदीप खड्काको करियरकै एक नमीठो व्यावसायिक असफलता साबित भएको छ । यही सूचीमा अब प्रदीप शाही निर्देशित महँगो बजेटको फिल्म ‘एक्लो’ पनि थपिने निश्चित भएको छ ।
‘एक्लो-१’ मा विजय लामा, कविता नेपाली, जेमी बेकन, प्रदीप खड्का, बेनिशा हमाल, सुरज सिंह ठकुरी, एभोन राज उप्रेती, दीया पुन, सुनिल थापा, दिनेश डीसीलगायत कलाकारहरूको अभिनय छ ।
नेपालमा विज्ञान कथामा आधारित फिल्म बनाउनु आफैंमा एउटा चुनौती त थियो नै तर, तथ्यांकलाई हेर्दा दर्शकले फिल्मको मेकिङ र कथावस्तुमा खासै रुचि नदेखाएको बुझिन्छ ।
हलहरूमा दर्शकको न्यून उपस्थितिका कारण सो संख्यामा पनि भारी कटौती गरिएको छ । निर्माण पक्षले सुरुमा निकै उत्साह देखाए पनि अहिलेको नतिजाले लगानी सुरक्षित गर्न निकै कठिन हुने देखिएको छ ।



