माघे संक्रान्तिको उपहार ‘मिरमिरे’: सेन्सरबाट पायो ‘यू’ सर्टिफिकेट, एडभान्स् बुकिङ धमाधम हुँदै
काठमाडौं । भोलि (माघ १ गते) माघे संक्रान्तिको अवसर पारेर देशभरका सिनेमा हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘मिरमिरे’ ले सेन्सर बोर्डबाट ‘यू’ युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ ।
केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रमा कुनै पनि दृश्य काटछाँट नगरी सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी अनुमति दिएको हो ।
सेन्सरबाट क्लिन चिट पाएसँगै निर्माण पक्ष र दर्शक दुवैमा उत्साह थपिएको छ । अब यो चलचित्र स-साना बालबालिकादेखि वृद्धवृद्धासम्मले सपरिवार सँगै बसेर हेर्न पाउनेछन् ।
चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा एडभान्स् बुकिङ खुल्ला गरिएको छ । क्यूएफएक्स, आईएनआई, वान सिनेमाज्, बिग मुभिज लगायतका सिनेमा हलहरूले बुकिङ खुलाएका हुन् । ट्रेलर र गीतका कारण सिर्जना भएको ‘हाइप’ले गर्दा बुकिङमा दर्शकको आकर्षण उत्साहजनक देखिएको छ ।
चलचित्र ‘मिरमिरे’ ले यो समाचार तयार पार्दासम्म देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यका भित्रका हलमा १६ शो पाएको छ भने मोफसलमा २३ १६ शो पाएको छ ।
यसैगरि, देशको दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईका ६ वटा आउटलेटमा ११ शो, बिग मुभिजले ३ शो, एफक्युब सिनेमाले ५ शो र वान सिनेमाज् आफ्ना २ वटा आउटलेट ९ शो दिएका छन् ।
वितरण कम्पनी आरआर फिल्म्स देशभर करिब १ सय ५० शो भन्दा बढी पाएको जानकारी दिएको छ । केही हलहरुमा शो खुल्न बाँकी र अग्रीम टिकट बुकिङ खुल्ला हुँदै गएको समेत जानकारी दिएको छ ।
यम शेर्पाको निर्देशनमा तयार भएको ‘मिरमिरे’ एउटा पारिवारिक सामाजिक ड्रामा हो । चलचित्रले मुख्य रूपमा बुवा र छोरीको भावनात्मक सम्बन्धलाई पर्दामा उतारेको छ । आफ्नी छोरीको सपना पूरा गर्न एउटा बुवाले गर्ने संघर्ष र त्याग नै यस चलचित्रको मुख्य आकर्षण हो ।
यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा नेपाली सिनेमाका सफल अभिनेता दयाहाङ राई र चर्चित गायक तथा अभिनेता प्रकाश सपुतको मुख्य भूमिका रहेको छ । यी दुई प्रभावशाली कलाकारलाई पहिलो पटक एउटै पर्दामा देख्न पाउनु दर्शकका लागि विशेष आकर्षण बनेको छ ।
चलचित्रमा सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल लगायत कलाकारहरुको पनि प्रमुख भूमिकामा छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् ।
आलोक शुक्लाको छायांकन रहेको यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।
माघे संक्रान्तिको सार्वजनिक बिदाको दिन रिलिज हुन लागेकाले ‘मिरमिरे’ ले बक्स अफिसमा राम्रो ओपनिङ गर्ने अनुमान गरिएको छ । ‘यू’ सर्टिफिकेटका कारण विशेषगरी ‘फेमिली अडियन्स’ (पारिवारिक दर्शक) को उपस्थिति हलमा बाक्लो हुने निर्माण पक्षको विश्वास छ ।



