नेपालमै पहिलोपटक डल्बी एटमस साउन्ड मिक्सिङ तालिम सुरु
काठमाडौं । नेपालमा पहिलोपटक अत्याधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस साउन्ड मिक्सिङ तालिम सुरु भएको छ । म्युजिक नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सक्रिय सहयोग र सहकार्यमा भिजुअल सोसाइटी अफ नेपालको सहआयोजनामा यो तालिम सुरु भएको हो ।
म्युजिक नेपालद्वारा स्थापना गरिएको डल्बी अडियो साउन्ड मिक्सिङ स्टुडियो ‘सगरमाथा’मा नेपाली चलचित्र क्षेत्रमा कार्यरत साउन्ड मिक्सिङ प्राविधिकहरूका लागि तालिम प्रदान गरिँदैछ । तालिम सञ्चालनका लागि भारतीय चलचित्र उद्योगका चर्चित तथा डल्बीबाट सर्टिफाइड साउन्ड इन्जिनियर भरत रेड्डी नेपाल आएका छन् ।
भरत रेड्डीको नाम थ्री इडियट्स, सैयारा, पुष्पा, सितारे जमीन पर, थामा, धुरन्धर तथा आउन लागेको टक्सिकजस्ता चर्चित चलचित्रहरूसँग जोडिएको छ । उनी डल्बी सर्टिफाइड ट्रेनर हुन् ।
तालिम सुरु हुनुअघि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सहभागी प्राविधिकहरूलाई सक्रिय रूपमा ज्ञान आर्जन गर्न शुभकामना दिँदै यो तालिमले नेपाली चलचित्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्याउने विश्वास व्यक्त गरे ।
डल्बीबाट सर्टिफाइड म्युजिक नेपालको यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा स्टुडियोमध्ये एक हो । नेपालमा भने पहिलो डल्बी एटमस साउन्ड मिक्सिङ स्टुडियो हो ।



