बिक्नेभन्दा टिक्ने चलचित्रलाई प्राथमिकतामा राख

नेपाली चलचित्र उद्योग र सञ्चारमाध्यममा पछिल्लो समय चलचित्रलाई लिएर केही विषयको चर्चा छ भने त्यो हो, बक्सअफिस । कुन चलचित्रले कति कमायो ? कुन कलाकारको चलचित्रले कति पैसा उठायो ? निर्मातालाई घाटा भयो कि नाफा, कुन कलाकारले कति पारिश्रमिक लियो ? यीनै हुन् अहिले सिनेमामा बहसका मुख्य विषय ।

तर, चलचित्र कस्तो छ ? कति राम्रो वा नराम्रो छ ? के कारणले राम्रो भयो वा भएन ? के भएको भए थप राम्रो हुनेथियो लगायत विषयमा कमै मात्रै बहस र चासो हुन्छ । चलचित्र कुन गुणस्तरको छ भनेर पर्याप्त बहस र छलफल नभएसम्म र यो प्राथमिकतामा नपरेसम्म चलचित्रको विकास हुँदैन ।

सञ्चारमाध्यमदेखि चलचित्रकर्मीसम्मले चलचित्रको गुणस्तरलाई केन्द्रमा राख्नुपर्छ । कमाउनेमा भन्दा पनि क्वालिटीमा ध्यान नदिएसम्म राम्रा चलचित्र बन्दैनन् । त्यसैले चलचित्र बलियो रहेको मापन उसको बक्सअफिस कलेक्सनले होइन गुणस्तरले निर्धारण गर्छ भन्ने बुझाई सबैमा हुनुपर्छ । यसो भएको खण्डमा मात्रै चलचित्रको गुणस्तरमा लेखक, निर्देशक र निर्माता गुणस्तरीय चलचित्र निर्माणतर्फ ध्यान दिने सम्भावना बढी हुन्छ ।

सम्बन्धित सरोकारवाला निकायले पनि धेरै कमाएका भन्दा पनि राम्रा चलचित्रका निर्माता निर्देशकलाई सम्मान गर्नुपर्छ । चलचित्र विकास बोर्डले केही समय अगाडि चलचित्रका निर्मातालाई सम्मान गर्दा २५ वर्षमा ५ करोडभन्दा धेरै कमाएका चलचित्रलाई सम्मान गरेको थियो । यस्ता निकायले प्रोत्साहनका लागि धेरै कमाउने चलसिचत्रलाई सम्मान गर्नु नराम्रो होइन ।

तर, राम्रा चलचित्र बनाउने निर्माता र निर्देशक जसले बक्सअफिसमा ठूलो जोखिम मोलेर बिक्नेभन्दा टिक्ने चलचित्र बनाए, उनीहरू झन धेरै सम्मानका हकदार हुन् । त्यसैले जोखिम मोलेर राम्रो काम गर्नेलाई सरकारले प्राथमिकतमा राख्नुपर्छ ।

बक्सअफिसमा सफल चलचित्र पनि चाहिन्छ, तर यसो भन्दैमा जोखिम मोलेर गुणस्तरीय सिनेमा बनाउनेलाई उपेक्षित गर्नु हुँदैन । अझै बढी प्राथमिकतामा राख्नुपर्छ ।