‘कालकट्टी’ र ‘काकाको बिहे’को औपचारिक घोषणा
काठमाडौं । “समयभन्दा अघि र भाग्यभन्दा बढी केही पनि पाइँदैन” भन्ने उक्ति अब पर्दामा जीवन पाउने तयारीमा छ । लामो समयदेखि मनभित्र साँचेर राखिएको सिनेमा निर्माणको सपना अन्ततः यथार्थमा परिणत हुँदैछ। रघुजी फिल्म्सको ब्यानरमा दुई फरक स्वाद र दुई फरक संसार बोकेका नेपाली चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक रूपमा सार्वजनिक भएका छन् ।
लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको सशक्त टिमअपबाट निर्माण हुन लागेका यी चलचित्रहरूले नेपाली सिनेमामा नयाँ ऊर्जा, नयाँ सोच र फरक प्रस्तुति ल्याउने अपेक्षा गरिएको छ । दुवै चलचित्र आगामी वर्ष २०८३ मा दर्शकमाझ ल्याउने तयारीमा निर्माण पक्ष जुटेको छ ।
माघ १ गते टिजर सार्वजनिक गर्दै औपचारिक रूपमा चलचित्रको सुरुवात गर्ने तयारी भए पनि केही अपरिहार्य कारणवश टिजर रिलिज हुन सकेन । तर, रघुजी फिल्म्सले टिजरको प्रतीक्षामा रहेका दर्शकहरूलाई पोस्टरमार्फत पहिलो झलक दिँदै चलचित्रको आधिकारिक घोषणा गरेको छ, जसले फिल्मप्रेमीहरूबीच उत्सुकता झनै बढाएको छ ।
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेका दुई चलचित्रमध्ये ‘कालकट्टी’ छायांकनतर्फ अघि बढ्ने तयारीमा छ । चलचित्रको छायांकन माघ महिनाको अन्त्यतिर सुरु हुने बताइएको छ । कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया हाल तीव्र गतिमा अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्र ‘कालकट्टी’का निर्माता रघुनाथ सापकोटा हुन् भने कथा, पटकथा, संवाद तथा निर्देशनको सम्पूर्ण जिम्मेवारी अमरदीप सापकोटाले सम्हालेका छन् । छायांकनको जिम्मा निसाल पौडेलको काँधमा रहनेछ भने संगीतकार भीम बिष्टले चलचित्रका भावनालाई संगीतमा उतार्नेछन् ।
चलचित्रलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित गरिएको छ, जसले चलचित्रको बजार विस्तार र पहुँचलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
पोस्टर सार्वजनिक भएसँगै चलचित्रप्रेमीहरूबीच ‘कालकट्टी’ ले कस्तो कथा, कस्तो द्वन्द्व र कस्तो सिनेम्याटिक अनुभव लिएर आउने हो भन्ने चासो बढ्दै गएको छ । निर्माण टिमले छिट्टै टिजर तथा थप विवरण सार्वजनिक गर्ने बताएको छ ।
‘कालकट्टी’ को छायांकन सकेर रिलिजको तयारी संगै ‘काकाको बिहे’ को छायांकन सुरु हुनेछ ।



