ट्राफिक सप्ताहमा राजेशदेखि पदमसम्म
काठमाडौं । एक हप्ता लामो ट्राफिक सचेतना अभिवृद्धि कार्यक्रममा कलाकारसमेत सहभागी भएका छन् । एक हप्ता लामो ट्राफिक सप्ताह कार्यक्रममा कलाकारको समेत साथ रहेको हो ।
कार्यक्रमका कलाकारसँगै एआईजी ईश्वर कार्की र एसएसपी नवराज अधिकारीको उपस्थिति रहेको थियो । बूढानीलकण्ठ प्रहरी प्रभागका प्रमुख नारायण सिंह विष्टको नेतृत्वमा आयोजना गरिएको उक्त ट्राफिक सप्ताहअन्तर्गत ट्राफिक नियम, सडक सुरक्षा तथा नागरिक सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका थिए । कार्यक्रममा विभिन्न संघ–संस्था, स्थानीय प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा नायक राजेश हमाल र सिक्किमका अभिनेता पदम तामाङ पनि सहभागी भएका थिए । पदम हाल प्रदर्शनरत नेपाली चलचित्र ‘गोबर गणेश’को प्रचार–प्रसारका लागि नेपालमा आएका छन् । सोही अवसरमा उनी ट्राफिक सप्ताह कार्यक्रममा समेत उपस्थित भई ट्राफिक नियम पालन र सडक सुरक्षाको सन्देश प्रवाह गरेका थिए ।
ट्राफिक सप्ताहकै अवसरमा करुणा अस्पताललाई हस्पिटल पार्टनरका रूपमा समेट्दै निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । शिविरमार्फत सर्वसाधारणले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका थिए ।
कार्यक्रममा बूढानीलकण्ठ–१३ का समाजसेवी सरोज श्रेष्ठ तथा ट्राफिक प्रहरी प्रभाग बूढानीलकण्ठका प्र.ना.नि. टीकाराम ओलीको समेत उपस्थिति रहेको थियो ।



