भ्यालेन्टाइन डेमा विवाह गर्दै धनुष र मृणाल

मुम्बई (एजेन्सी)। दक्षिण भारतीय अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुरको प्रेम सम्बन्धलाई लिएर अहिले भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । केही समयदेखि यी दुई ‘डेटिङ’मा रहेको र छिट्टै विवाह गर्न लागेको दाबीसहितका समाचारहरू सार्वजनिक भइरहेका छन् ।

विशेषगरी सन् २०२६ को फेब्रुअरी १४ (प्रणय दिवस) का दिन उनीहरूले गोप्य रूपमा विवाह गर्ने तयारी गरिरहेको हल्लाले फ्यानहरूमाझ उत्सुकता बढाएको छ । तर, अभिनेत्री मृणाल ठाकुरले भने यी सबै कुरालाई अस्वीकार गरेकी छिन् ।

विवाहको हल्ला बढ्दै गएपछि मृणालले हालै एक अन्तर्वार्ताका क्रममा आफ्नो प्रतिक्रिया दिएकी छिन् । उनले धनुष र आफ्नो सम्बन्धलाई लिएर भइरहेका टिप्पणीहरूलाई ‘हास्यास्पद’ भन्दै आफूहरू “केबल असल साथी” मात्र भएको बताएकी छिन् । मृणालका अनुसार उनीहरूबीच व्यावसायिक सम्मान र मित्रता बाहेक अन्य कुनै सम्बन्ध छैन ।

यस्तै, मृणाल निकट स्रोतहरूले पनि अभिनेत्रीको तालिका आगामी महिनाहरूमा फिल्मका कामहरूले व्यस्त रहेको र विवाहको कुनै योजना नरहेको बताएका छन् ।

धनुष र मृणालको लिङ्क-अपको चर्चा सन् २०२५ को अगस्टदेखि सुरु भएको हो । मृणालको फिल्म ‘सन अफ सरदार २’ को प्रिमियरमा धनुष विशेष अतिथिको रूपमा उपस्थित भएपछि उनीहरूको सामीप्यतालाई लिएर अड्कलबाजी सुरु भएको थियो । उक्त कार्यक्रममा उनीहरूबीचको ‘केमिस्ट्री’ र कुराकानीका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

त्यसपछि पनि विभिन्न फिल्मी पार्टी र कार्यक्रमहरूमा उनीहरू सँगै देखिएपछि फ्यानहरूले उनीहरू प्रेम सम्बन्धमा रहेको अनुमान गर्न थालेका हुन् ।

धनुषले अहिलेसम्म यसबारे आधिकारिक रूपमा कुनै टिप्पणी गरेका छैनन् । उनी आफ्नो निजी जीवनलाई निकै गोप्य राख्न रुचाउँछन् । उनका प्रतिनिधिहरूले भने यस्ता समाचारहरू आधारहीन भएको र कलाकारको निजी जीवनको सम्मान गर्न आग्रह गरेका छन् ।

धनुष र मृणाल दुवै अहिले आ-आफ्नो ठूला प्रोजेक्टहरूमा व्यस्त छन् । मृणालको फिल्म ‘दो दिवाने सहर मे’ प्रदर्शनको तयारीमा छ भने धनुष पनि आफ्ना आगामी बहुप्रतिक्षित फिल्महरूको छायांकनमा व्यस्त छन् ।

यद्यपि, कलाकारहरूले अस्वीकार गरे पनि सामाजिक सञ्जालमा फ्यानहरूले भने यो जोडीलाई ‘पर्फेक्ट’ भन्दै शुभकामना दिन छाडेका छैनन् । अब आउँदो फेब्रुअरी १४ ले यो हल्ला केवल चर्चा मात्र हो कि यसमा केही सत्यता छ भन्ने कुरा थप स्पष्ट पार्नेछ ।