कस्तो छ ‘रमिताको पिरती’को गीत ‘फोन नगर’ ?

काठमाडौं । युवापुस्ताका लोकप्रिय गायक तथा र्‍यापर कुशल पोखरेलले चलचित्र ‘रमिताको पिरती’ का लागि तयार पारेको ‘फोन नगर’ बोलको गीत सार्वजनिक भएको छ ।

माघ १ गते बुटवलमा आयोजित एक भव्य कन्सर्टका बीच फिल्मको प्रवर्द्धन गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गायक पोखरेलले यो गीतका लागि निकै मिहिनेत गरेको बताएका छन् । “निर्देशक सुदिप्ता र मेरो भाइब मिल्यो, तर शब्दमा सहमति जुट्न झण्डै सातौँ ड्राफ्टसम्म पुग्नुपर्‍यो,” कुशलले सम्झिए । झण्डै एक वर्षअघि सुरु भएको यो सहकार्यले अन्ततः एउटा ‘कडा’ सिर्जनाको रूप लिएको उनको दाबी छ ।

यो गीतले विशेषगरी ‘ब्रेकअप’ पछि एक युवतीको मनमा चल्ने भावनालाई समेटेको छ । माघ २३ गते प्रणय दिवसको छेको पारेर प्रदर्शनमा आउन लागेको चलचित्रको यस गीतको भिडियोमा र्‍यापर कुशल स्वयं देखिएका छन् भने फिल्मकी मुख्य अभिनेत्री आना शर्मा पनि प्रस्तुत छिन् ।

भिडियोमा दीपिका तामाङको कोरियोग्राफी पृथक र आकर्षक देखिएको छ । प्रेम सम्बन्धबाट आजित पात्रको भावना र अनुभूतिलाई रोचक शैलीमा व्यक्त गरेको गीतले फिल्मकी मुख्य पात्र आनाको मनोदशालाई दर्शाएको छ ।

सुदिप्ताको निर्देशनमा बनेको ‘रमिताको पिरती’ एउटा ‘ब्रेकअप स्टोरी’ हो । यस चलचित्रको केन्द्रमा रमिता (आना शर्मा) छिन् । आनाले यसमा अभिनयसँगै कार्यकारी निर्मात्रीको भूमिका पनि निभाएकी छन् ।

चलचित्रमा आना र समीरका साथै धीरज मगर, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले ल्हामो लगायतका कलाकारहरूले अभिनय गरेका छन् । गायक समीरको यो डेब्यु सिनेमा हो ।

सुदिप्ता स्वयंको लेखन रहेको चलचित्रमा शिशिर विशाङ्खेको डीओपी तथा सुनिल सिवाकोटीको सम्पादन छ । आना यस सिनेमाको कार्यकारी निर्मातामा समेत हुन् ।