माघ ९ मा स्थगित ‘बिगुल’, अब कहिले रिलिज हुन्छ ?
काठमाडौं । चलचित्र ‘बिगुल’ पूर्वनिर्धारित मिति ९ माघमा प्रदर्शन नहुने भएको छ । चलचित्रका निर्माता दिनेश कोइरालाले ‘बिगुल’को प्रदर्शन हाललाई स्थगित गरिएको बताएका छन् ।
विशेष प्राविधिक कारणले प्रदर्शन स्थगित गरिएकोमा क्षमायाचना गर्दै उनले केही दिनभित्रै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी दिएका छन् ।
रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्कालगायत नवअभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन् ।
देशको वर्तमान राजनैतिक अवस्था,आम नेपालीको जनभावना तथा परिस्थितिसँग धेरै हदसम्म मिल्दो विषयवस्तु प्रस्तुत चलचित्रका गीत, टिजर अनि ट्रेलरले दर्शकको मन छोइरहेको अवस्थामा चलचित्र प्रदर्शन स्थगित गर्नु परेकोमा निर्देशक कोइरालाले पनि दुःख ब्यक्त गरेका छन् ।
शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द निर्देशन अनि तारा थापा किम्भेको सम्पादन रहेको चलचित्रका गीतमा बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ ।
निर्माता कोइराला स्वयमको कथा रहेको चलचित्रको पटकथा र संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् ।



