प्रकाश सपूतलाई फेरि झड्का
काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूत यतिबेला देशका विभिन्न ठाउँमा आयोजना भइरहेका मेला–महोत्सवमा व्यस्त छन् । जाडोको मौसममा पनि उनको प्रस्तुतिले महोत्सव तातिरहेका छन् ।
प्रकाश जहाँ पुग्छन्, त्यहाँ हजारौँको भिड लाग्छ । उनी स्टेजमा उक्लिँदा दर्शकको हुटिङले आकाश गुञ्जिन्छ । उनीसँग एउटा सेल्फी खिच्न र उनको स्वरमा झुम्न मानिसहरू घण्टौँ कुरिदिन्छन् । उनलाई स्टेज कार्यक्रममा हेर्न र सुन्न हजारौं हजार दर्शक ओइरिन्छन् ।
तर, विडम्बना ! तिनै प्रकाश सपुत जब पर्दामा ‘नायक’ बनेर आउँछन्, स्टेजमा झुम्ने तिनै दर्शक हलसम्म पुग्दैनन् । यही बेला माघे संक्रान्तिको अवसर पारेर हलमा प्रदर्शनमा आएको उनको चलचित्र ‘मिरमिरे’ ले भने बक्स अफिसमा निकै कमजोर प्रदर्शन गरिरहेको छ ।
उसो त सुरुआतका उनका चलचित्र सुपरहिट भए । तर अहिले भने उनले चलचित्रमा लगातार झड्का खाइरहेका छन् । अर्थात उनका एकपछि अर्को सिनेमा बक्स अफिसमा कमजोर देखिइरहेका छन् ।
पछिल्लो समय प्रकाशको करियरमा एउटा अनौठो विरोधाभास देखिएको छ, स्टेजमा ‘सुपरहिट’, चलचित्रमा ‘लगातार झड्का’ ।
स्टेजमा प्रकाशलाई हेर्न ओइरिने दर्शकको तुलनामा हलमा उनको चलचित्र हेर्न जानेको संख्या नगन्य देखिएको छ । चलचित्रले पहिलो दिनबाटै दर्शकको साथ पाउन सकेन, जसका कारण प्रकाशको सिनेमा करियरमा फेरि एकपटक धक्का लागेको छ ।
यो प्रकाशका लागि पहिलो झड्का भने होइन । यसअघि उनको चलचित्र ‘सोल्टिनी’ बक्स अफिसमा नराम्ररी पछारिएको थियो ।
यसअघि लगातार सुपरहिट गीत दिएका, ‘परदेशी–२’ र ‘पूर्ण बहादुरको सारंगी’जस्ता सुपरहिट फिल्ममा अभिनय गरेका प्रकाश सपूतको आफ्नै फिल्म ‘वसन्त’ले पनि दुई करोड हाराहारी कमाएको थियो । दसैँ आएका उनी अभिनीत ‘हरिवहादुरको जुत्ता’ र ‘माइतीघर’को व्यापार पनि चार करोडमाथि पुगेको थियो ।
प्रकाशका लागि पछिल्ला दुई चलचित्र (सोल्टिनी र मिरमिरे) निकै भारी परेका छन् । उनले चलचित्रमा राम्रो व्यापार गर्ने अपेक्षा राखे पनि परिणाम भने उल्टो आइरहेको छ ।
प्रकाश आफैँमा एउटा ठूलो ब्राण्ड हुन्, यसमा दुई मत छैन । तर, स्टेजको सफलताले मात्र चलचित्र चल्दैन भन्ने प्रमाण उनका पछिल्ला सिनेमाले दिएका छन् । गीत–संगीतमा जस्तै चलचित्रको कथा र चरित्र छनोटमा उनले गम्भीर समीक्षा नगर्ने हो भने, स्टेजका यी ‘सुपरस्टार’ को फिल्मी यात्रा जोखिममा पर्न सक्छ ।
हजारौँको भिडमा घेरिएका प्रकाशका लागि अहिले एउटै प्रश्न तेर्सिएको छ, “स्टेजमा ताली बजाउने हातहरू हलको टिकट काट्न किन मानिरहेका छैनन् ?”



