‘आ बाट आमा’को ट्रेलरमा त्याग, जिम्मेवारी र मायाको त्रिवेणी, निर्देशकले देखाउन खोजे एक्सन र इमोसन
काठमाडौं । चन्द्र पन्तको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
झण्डै ४ मिनेट लामो ट्रेलरले आमा र छोराको भावनात्मक सम्बन्ध, पारिवारिक त्याग र जीवनको कडा सङ्घर्षलाई मुख्य विषयवस्तु बनाएको छ ।
ट्रेलरको सुरुवात भगवान् कृष्णको जन्म र पौराणिक युद्धका दृश्यहरूबाट हुन्छ । ‘वासुदेव र देवकीको छोरो’ भन्दै सुरु गरिएको कथाले आधुनिक समयको एउटा छोरा कृष्ण (पल शाह) र उनको आमा (विपना थापा) को सम्बन्धलाई पौराणिक सन्दर्भसँग जोड्न खोजेको छ । ट्रेलरमा भनिएको छ, “यो मायावी संसार एउटा कुरुक्षेत्र जस्तै हो, जहाँ हरेक पाइलामा एउटा नयाँ महाभारत छ ।” यसले एउटा युद्ध र आमालाई शक्तिको स्रोतको रूपमा चित्रण गरेको छ ।
सार्वजनिक ट्रेलरबाट कथाको मेरुदण्ड आमा र छोराको भावनात्मक सम्बन्ध हो भन्ने बुझाउँछ । ट्रेलरमा विपना थापाले एउटी यस्ती आमाको भूमिका निर्वाह गरेकी छिन्, जसको संसार नै आफ्नो छोरो ‘कृष्ण’ हो । छोराको खुसीमा रमाउने र छोरालाई सानो चोट लाग्दा पनि तड्पिने आमाको ममतालाई देखाइएको छ । पलले एक आज्ञाकारी र आमालाई औधी माया गर्ने छोराको भूमिकामा निर्वाह गरेका छन् ।
साथै, पैसा र प्रगतिको लोभले कसरी एउटा सुखी परिवारमा दरार ल्याउँछ र आमा-छोरालाई टाढा बनाउँछ भन्ने कुरा कथाको मुख्य द्वन्द्व देखिन्छ । प्रगति गर्ने सपना बोकेर विदेश छिरेको छोरो जब समस्यामा पर्छ, तब एउटी आमाको अवस्था कस्तो हुन्छ भन्ने कुरा ट्रेलरको अन्त्यतिरका दृश्यहरूले बुझाउँछन् । काठमाडौँका सडकदेखि विदेशका गल्लीहरूसम्म छोरो खोज्दै भौँतारिएकी आमाको दृश्यले कथालाई झल्काउँछ ।
ट्रेलरमा प्रेम र रोमान्सका पक्षहरू पनि छन् (पल शाहको दुई अभिनेत्रीहरूसँगको केमेस्ट्री), तर ती सबै कुरा पारिवारिक जिम्मेवारी र आमाको अगाडि गौण देखिन्छन् । ‘जिम्मेवारी’ र ‘त्याग’ शब्दहरू ट्रेलरमा नै उल्लेख गरिएकाले, चलचित्रले एउटा छोराले परिवारका लागि गर्ने सङ्घर्ष र आमाले छोराका लागि गर्ने त्यागलाई नै मुख्य विषय बनाएको प्रस्ट हुन्छ ।
द्वन्द्व निर्देशनमा समेत दख्खल राख्ने निर्देशक चन्द्र पन्तले यस चलचित्रमा पनि एक्सन र इमोसनको सन्तुलन मिलाउन खोजेको ट्रेलरबाट प्रस्ट हुन्छ ।
आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा पल शाह र विपना थापाका साथै प्रदिप रावत, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, साईग्रेस पोखरेल लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।
ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता रहेको यस चलचित्रमा कार्यकारी निर्माता कृष्णप्रसाद सुवेदी र ओमकार पन्त हुन् ।
नवराज उप्रेती डिओपी रहेको चलचित्रमा संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतम रहेका छन् ।
यो चलचित्र आगामी माघ १६ गते (जनवरी ३०) देखि नेपालभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने तयारीमा छ । चलचित्र को प्रदर्शन अधिकार भने आरआर फिल्मस्ले गर्दैछ । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।



