नेपाली चलचित्रमा मनमौजी पगरी, चौपट व्यापार
काठमाडौं । कुनै समय थियो, जब नेपाली चलचित्र क्षेत्रमा कलाकारको योगदान र दर्शकको अथाह मायाका आधारमा उनीहरूलाई विशेष सम्बोधन गरिन्थ्यो ।
पहिलेका कलाकारहरूले ट्याग ‘कमाउँथे’, अहिलेकालाई ‘उपहार’ दिइन्छ । राजेश हमाललाई ‘महानायक’, भुवन केसीलाई ‘सदाबहार नायक’ वा शिव श्रेष्ठलाई ‘एक्सन किङ’ भन्न दशकौँ लाग्यो । यी नामहरू दर्शकले दिएका उपहार थिए ।
तर, पछिल्लो समय नेपाली चलचित्रमा एउटा नयाँ र अचम्मको प्रवृत्ति भित्रिएको छ, फिल्मको पर्दामा नाम आउनुअघि नै कलाकारलाई ‘मेगास्टार’, ‘सुपरस्टार’ वा ‘एक्सन स्टार’ को पगरी गुथाइदिने ।
विडम्बना के छ भने, पोस्टर र टिजरमा झुन्ड्याइएका यी ठुला ट्यागहरूले फिल्मलाई बक्स अफिसको असफलताबाट जोगाउन सकेका छैनन् ।
भर्खरै प्रदर्शनमा आएको फिल्म ‘बलिदान’ यसको ताजा उदाहरण हो । डेव्यु फिल्म ‘१२ गाउँ’ बाट एकाएक चर्चामा आएका समीर भट्टलाई निर्देशक सन्तोष सेनले दोस्रो फिल्ममै ‘एक्सन किङ’ को उपाधि दिए ।
५ करोडभन्दा बढी लगानी दाबी गरिएको यो फिल्मले बक्स अफिसमा ६ करोडको आँकडा पनि छुन सकेन । दर्शकले समीरको एक्सनलाई त रुचाए, तर फिल्मको कन्टेन्टबिनाको ‘ट्याग’ लाई व्यापारमा बदल्न सकेनन् ।
यस्तै अवस्था अभिनेता सुशील श्रेष्ठको पनि छ । फिल्म ‘होस्टेल रिटर्न्स’ बाट चकलेटी हिरोका रूपमा उदाएका सुशीललाई फिल्म ‘आउट ल’ मा ‘एक्सन स्टार’ भनियो । शारीरिक रूपमा फिट र एक्सनमा अब्बल देखिए पनि यो ट्यागले फिल्मलाई हिट बनाउन सकेन । अहिले फेरि फिल्म ‘परिवर्तन’ मा उनलाई त्यही ‘एक्सन स्टार’ कै रूपमा प्रस्तुत गरिँदै छ, जसको भविष्य बक्स अफिसमै निहित छ ।
नेपाली फिल्ममा ‘ट्याग’ संस्कृतिलाई संस्थागत गर्ने श्रेय अभिनेता अनमोल केसीलाई जान्छ । फिल्म ‘क्याप्टेन’ को घोषणादेखि नै उनलाई ‘मेगास्टार’ भन्न थालियो । यद्यपि, ‘ए मेरो हजुर ३’ र ‘जेरी अन टप’ जस्ता फिल्मले व्यावसायिक सफलता पाए पनि अनमोलका सबै ‘मेगास्टार’ ट्याग झुन्ड्याइएका फिल्मले बक्स अफिसमा जादु देखाउन सकेका छैनन् ।
प्रदीप खड्काको अवस्था पनि उस्तै छ । फिल्म ‘एक्टर : टेक वान’ मा प्रदीपलाई ‘सुपरस्टार’ को ट्याग दिइयो । तर, यो फिल्मको व्यापारिक नतिजा निकै निराशाजनक रह्यो । ट्यागले कलाकारको ब्रान्डिङ त गर्ला, तर टिकट काउन्टरमा दर्शकको लाइन लगाउन भने असफल देखिँदै आएको छ ।
अहिले फेरि ट्याग भिरेर चर्चाको केन्द्रमा अभिनेता पल शाह बनेका छन् । निर्देशक चन्द्र पन्तको आगामी फिल्म ‘आबाट आमा’ को टिजरमा पललाई ‘रियल सुपरस्टार’ को ट्याग दिएका छन् ।
तथ्याङ्क हेर्ने हो भने, पल शाहले एकल अभिनय गरेका फिल्महरूले अहिलेसम्म ६ करोड माथिको ग्रस कलेक्सन गर्न सकेका छैनन् । यस्तो अवस्थामा उनलाई ‘रियल सुपरस्टार’ भनिनु व्यापारिक दृष्टिकोणले भन्दा पनि फ्यान फलोइङलाई रिझाउने मेकरको रणनीति मात्र देखिन्छ ।
पल आफैँ भन्छन्, “मलाई ट्रेलर सार्वजनिक भएपछि मात्र यो ट्यागबारे थाहा भयो, तर मेकरहरूसँग म सहमत छु ।”
नेपाली मेकरहरूले फिल्मको कमजोरी लुकाउन वा चर्चा कमाउन ट्यागको सहारा लिने गरेका छन् । मेकरहरूले स्क्रिप्टमा भन्दा कलाकारको हाइपमा बढी लगानी गरिरहेका छन् ।
अहिलेका दर्शक फिल्मको मेकिङ, कथा र प्रस्तुति हेरेर मात्र हलसम्म जान्छन् । पर्दामा देखिने ‘विशेषण’ ले उनीहरूलाई आकर्षित गर्दैन । विना योगदान हतारमा दिइने उपाधिले कलाकारको गरिमा बढाउनुको साटो उल्टै आलोचना निम्त्याइरहेको छ ।
अहिले ट्याग दिने काममा सामाजिक सञ्जालका ‘फ्यान ग्रुप’ हरूको ठुलो हात छ । पैसा तिरेर वा फ्यानहरूलाई उकासेर सामाजिक सञ्जालमा ‘ह्यासट्याग’ ट्रेन्डिङ गराइन्छ । तर हलको ‘क्युआर कोड’ स्क्यान गर्ने बेलामा ती फेसबुकका लाइक र कमेन्ट हराउँछन् । भर्चुअल दुनियाँको स्टारडम र बक्स अफिसको यथार्थबीच ठुलो खाडल छ ।
नेपाली फिल्म उद्योगमा कलाकारको परिचय उसको कामले हुनुपर्छ, फिल्मको क्रेडिट टाइटलमा लेखिने अक्षरले होइन । ट्यागले फिल्मको ओपनिङमा केही मद्दत पुर्याउला, तर फिल्म टिकाउन ‘कथा’ नै चाहिन्छ ।
निर्माता र निर्देशकहरूले बुझ्नुपर्ने कुरा के हो भने, दर्शकले कलाकारलाई मन पराएर ‘स्टार’ बनाउँछन्, तर फिल्म चल्नका लागि त्यो कलाकारको नाम अगाडि जोडिएको विशेषण होइन, उसको अभिनय र फिल्मको गुणस्तर बलियो हुनुपर्छ । नत्र, ‘सुपरस्टार’ र ‘मेगास्टार’ का फिल्महरूले ६ करोडको व्यापार गर्न पनि सङ्घर्ष गरिरहनुपर्ने अवस्था कायमै रहनेछ ।




