ओली र बालेनको चुनावी प्रतिस्पर्धाले देशैभरि ततायो माहोल, सेलिब्रेटीहरू कसको जित चाहन्छन् ?

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा देशको चुनावी राजनीति यतिबेला झापा क्षेत्र नम्बर ५ मा केन्द्रित भएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएसँगै यस क्षेत्रले सबैको ध्यान खिचेको हो । कारण हो, एमाले अध्यक्ष केपी शर्मा ओली र बालेन शाहबीचको प्रतिस्पर्धा ।

चिया पसलदेखि सामाजिक सञ्जालका भित्तासम्म अहिले झापा–५ कै चर्चा छ । विशेषगरी युवा पुस्ता र कलाकारहरूको समर्थनले बालेन शाहको पक्षमा ठूलो लहर सिर्जना गरेको देखिन्छ ।

निर्वाचनको सरगर्मी सहरदेखि गाउँसम्म पुग्दा नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहारहरूले पनि आ–आफ्नो कित्ता स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट चुनावी मैदानमा देखिएका बालेनको पक्षमा अभिनेत्रीहरू खुलेरै लागेका छन् ।

अभिनेत्री स्वस्तिमा खड्काले बालेन शाहको र्‍यालीको तस्बिर साझा गर्दै राष्ट्रियताको भावना व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्, “जब देश निर्माणका लागि नागरिक एकजुट हुन्छन्, पार्टीको भन्दा देशको झन्डा देखिन्छ ।”

उनले नेपालको झन्डा र घण्टी चुनाव चिह्न राख्दै आफ्नो समर्थन बालेन र रास्वपालाई रहेको संकेत गरेकी छिन् ।

त्यस्तै, अर्की अभिनेत्री वर्षा राउतले पनि सांगीतिक शैलीमा बालेनको समर्थन गरेकी छिन् । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले ‘घण्टी बज्यो, घण्टी बज्यो मनको’ भन्दै गीत गाएपछि उनका फ्यानहरूले यसलाई रास्वपाको पक्षमा स्पष्ट समर्थनका रूपमा लिएका छन् ।

अभिनेत्री प्रियंका कार्कीले बिहीबार फेसबुकमार्फत बालेनको पक्षमा लामो स्टाटस लेख्दै सन्तानको भविष्य र देश परिवर्तनका लागि बालेन शाहले जित्नुपर्ने बताएकी छन् ।

“यो पटक बालेन शाहले जित्नुपर्छ। क्रेज र लोकप्रियताका कारण मात्रै होइन, उहाँले पूरै देशलाई परिवर्तन सम्भव छ भन्ने विश्वास दिलाउनुभएको छ । यो हाम्रा सन्तानको भविष्यका लागि पनि आवश्यक छ,” उनले लेखेकी छिन् ।

बालेनलाई जिताउन कलाकारहरू केवल सामाजिक सञ्जालमा मात्र सीमित छैनन् । चर्चित हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ बालेनको रक्षाकवज बनेर भोट माग्दै चुनावी मैदानमै खटिएका छन् ।

यसैगरी, निर्देशक निश्चल बस्नेतले पनि झापा–५ मा पुगेर स्थानीयहरूसँग भेटघाट गर्दै बालेनको पक्षमा माहोल तीव्र पारेका छन् । बालेन र रवि लामिछानेबीचको समन्वयमा पनि निश्चलले महत्वपूर्ण भूमिका खेलेको देखिन्थ्यो ।

अभिनेत्री तथा निर्मात्री ऋचा शर्माले पनि झापामा बालेनको उम्मेदवारी दर्ताका क्रममा देखिएको जनसागरको प्रशंसा गर्दै शुभकामना दिएकी छिन् । केकी अधिकारी, आसिफ शाह, रीमा विश्वकर्मा लगायतका कलाकारहरूले पनि बालेनको पक्षमा माहोल बनाउन साथ दिइरहेका छन् ।

अनुभवी राजनीतिज्ञ केपी शर्मा ओलीको बलियो पकड मानिने झापा–५ मा बालेन शाहको उदयले चुनावी परिणामलाई थप अनपेक्षित बनाएको छ । एकातिर ओलीसँग राजनीतिक अनुभव र संगठनको शक्ति छ भने अर्कोतिर बालेनसँग युवाहरूको जोस र सेलिब्रेटीहरूको व्यापक समर्थन छ ।

फागुन २१ को नतिजाले झापाको मात्र नभई देशकै राजनीतिक दिशा निर्देश गर्ने देखिएको छ ।