दाङबाट सुरु भयो ‘मितज्यू’ को छायांकन, जेठ १५ गते प्रदर्शनमा आउने
काठमाडौं । व्यावसायिक रुपमा सफल चलचित्र ‘घरज्वाइँ’ को निर्माण समूहले नयाँ सिनेमा ‘मितज्यू’ को छायांकन सुरु भएको छ ।
शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा (वसन्तपञ्चमी) को शुभ अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु भएको हो ।
धार्मिक विधिपूर्वक पूजा गरेर पहिलो दृश्य खिच्दै चलचित्रको छायांकन सुरुवात गरिएको छ । एक महिने तालिकासहित छायांकन सुरु भएको सिनेमालाई दाङ र रोल्पाका विभिन्न स्थानमा खिचिने निर्माण टिमले जानकारी दिएको छ ।
यस चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गर्दैछन् । यो उनको दोस्रो निर्देशकिय सिनेमा हो ।
सामाजिक कथावस्तुमा आधारित रहने ‘मितज्यू’ का निर्माता जनक घर्ती मगर हुन् ।
चलचित्र ‘घरज्वाइँ’को मुख्य भूमिकामा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर देखिनेछ्न ।
भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेव्यु गर्न लागेकी हुन् ।
यस्तै चलचित्रमा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको पनि अभिनय रहनेछ ।
यस चलचित्रका मुख्य सहायक निर्देशक फिरोज खड्का हुन् भने सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन् ।
चलचित्रमा किशोर नेपाल प्रोडक्सन डिजाइनर, संगीता रोका मगर ड्रेस डिजाइनर, लोकश बज्राचार्य सम्पादक, छायाकार शिशिर शिशंखेल, प्रभात विष्ट द्वन्द्व निर्देशक र साउन्ड डिजाइनर नवीन श्रेष्ठ रहेका छन् । संगीत श्रीकृष्ण बम मल्लको रहनेछ ।
आरआर फिल्म्स वितरक रहेको यो चलचित्र आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।



