पगरी लिने र दिनेले यसको गरिमा नभुलुन्

नेपाली चलचित्र उद्योगमा एउटा गज्जबको चलन छ । योगदान कति छ, के छ मतलब छैन, पगरी गुथाउने र गुथ्नेको लहर छ ।

कोही, ‘रियल हिरो’, कोही ‘सुपरस्टार’, कोही ‘एक्सन किङ’, कोही ‘एक्सन स्टार’, कोही ‘मेगास्टार’, ‘रियल सुपरस्टार’ छन् ।

रमाइलो कुरा त के छ भने स्टारले मात्रै नपुगेर ‘सुपरस्टार’, स्टारले मात्रै नपुेर ‘मेगास्टार’ हुँदाहुँदा सुपरस्टारले मात्रै नपुगेर ‘रियल सुपरस्टार’ सम्म लिन र दिन भ्याइसके । खासमा यी शब्दको अर्थ सही अर्थमा के हो बुझ्नु पर्दैन ? हुन त निदाएको मान्छेलाई पो ब्युझाउन सकिन्छ, निदाएको नाटक गर्नेलाई त ब्युझाउन कहाँ सकिन्छ र ?

दिनेलाई यसको महत्व के हो थाहा छैन, लिनेले पनि ‘हो मा हो’ मिलाएर गजक्क परेर हो त म यही त हुँ भनेर मक्ख परेको देखिन्छ । हुन त समीक्षात्मक र व्यापारिक दुवै रूपमा असफल एउटा चलचित्र खेलेर चलचित्रबाट सन्यास लिने सिने उद्योग हो यो । कसलाई के लाज, के को इज्जत !

यी अनेकथरि ‘स्टार’ र ‘किङ’का चलचित्रले कति व्यापार गरेका छन्, कतिवटा चलचित्रले बक्सअफिसमा दोहोरो अंकको आंकडा पार गरेका छन्, कतिवटा चलचित्रले राम्रो समीक्षा पाएका छन्, कतिवटा चलचित्रमा अभिनयको तारिफ पाएका छन्, स्क्रिप्ट छनोटमा कति सफल देखिका छन्, कतिका कति चलचित्र विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगेर अवार्ड नै जितेछन् ? तथ्यांक केलाउँदा यी पगरीको सम्मान होला कि अपमान ?

चलचित्र राम्रो हुन एउटा व्यक्ति अथवा हिरोको हातमा मात्रै सबैथोक हुँदैन, त्यसमा पनि चलचित्र निर्देशकको माध्यम हो । तर, कम्तीमा हिरोको कामको त मूल्यांकन हुन्छ होला नि ?

साँच्चै अभिनयको तारिफ बटुल्ने सौगात मल्ल, दयाहाङ राई, विपीन कार्कीलाई चाहिँ कसैले यस्ता पगरी भिराउँदैनन् कि उनीहरूले अस्वीकार गरेका हुन् ? यसमा मुखै फोरेर केही बोल्नु पर्दैन । धेरैलाई थाहै छ ।

कुनै पनि पगरी स्वीकार गर्दा र त्यसको अफर गर्दा दुवै पक्षलाई यसको भार स्वीकार्न योग्य छु कि छैन, मैले दिँदै गरेको पगरीले कतै यो शब्दकै त अपमान हुँदैन भन्ने सोच्नु पर्छ । मन मिले सबथोक नमिले केही पनि छैन भनेजस्तो जे पनि गर्नु जायज होइन ।

यसले कतै हाम्रै विश्वस्नियतामा प्रश्न त खडा गरिरहेको छ । हामीले गरेको काम अरुले हेर्दा पनि कम्तीमा लाजमर्दो नहोस् । हामीले गुथाइदिएको पगरी आम मान्छेले विश्वास गर्नयोग्य होस् ।