प्रदीपलाई लिएर ‘प्रेम गीत ४’ बनाउँदैछन् सन्तोष ?

काठमाडौं । सन्तोष सेन नेपाली चलचित्र उद्योगमा नियमित रूपमा सिनेमा बनाइरहने निर्माता हुन् । ‘प्रेम गीत’का तीनवटा सिरिज र ‘बलिदान’ बनाइरकेका उनले यसबाहेक पनि चलचित्र ‘मेरी मामु’ र ‘चंखे संखे पंखे’ निर्माण गरेका छन् ।

त्यसो त पछिल्ला दुईवटा चलचित्र ‘प्रेम गीत ३’ र ‘बलिदान’ उनी आफैँले निर्देशन गरे । ठूलो हाइप बनाए पनि बक्सअफिसमा ५ करोडको सेरोफेरोमा सीमित रह्यो । ७÷८ करोड लगानी रहेको भनिएको सिनेमाले लगानी नउठाएको बक्सअफिस रिपोर्टबाट आंकन गर्न सकिन्छ ।

‘बलिदान’ दसैँमा रिलिज भएको थियो । यो सिनेमा रिलिज भएको चार महिना बितिसकेको छ । तर, सन्तोष सेन चुपचाप छन् । उनले अर्को चलचित्र निर्माणको घोषणा गरेका छैनन् ।

सन्तोष के गर्दैछन् यतिबेला ? सामान्यतया निर्माता तथा निर्देशकहरू एउटा सिनेमा नचलेपछि चलेका आफ्नो अघिल्लो चलेको सफल चलचित्रको सिरिजको सिक्वेल बनाउनतर्फ लाग्छन् ।

यसको पछिल्लो केही उदाहरण हेरौँ– ‘मनसरा’ बक्सअफिसमा सफल नभएपछि उपेन्द्र सुब्बाले ‘जारी २’ बनाए । ‘डिग्री माइला’ बक्सअफिसमा आसातित सफल नभएपछि रामबाबु गुरुङले ‘कबड्डी ५’ बनाए । ‘उपहार’ नचलेपछि ज्ञानेन्द्र देउजाले ‘झिंगे दाउ २’ बनाए । यी त पछिल्ला केही उदाहरण मात्रै हुन्, यस्ता धेरै उदाहरण छन् नेपाली सिनेमा उद्योगमा ।

स्रोतका अनुसार सन्तोष सेन पनि ‘प्रेम गीत’मै फर्किने तयारीमा छन् । ‘प्रेम गीत’को सिरिजकै अधिकांश कलाकारलाई लिएर सन्तोष ‘प्रेम गीत ४’ बनाउँदै छन् ।

‘प्रेम गीत’को मुख्य कलाकार प्रदीप खड्का हुन् । उनैलाई लिएर सन्तोष ‘प्रेम गीत ४’ बजाउने तयारीमा रहेको बुझिएको छ । पछिल्लो समय सन्तोष र प्रदीपको सम्बन्ध त्यति धेरै राम्रो छैन भन्नेछ ।

तर, पनि उनीहरू सँगै काम गर्ने तयारीमा रहेको बताइएको छ । यसका लागि प्रदीपले सन्तोषसँग केही सर्त राखेको स्रोतको भनाइ छ ।

उनीहरू दुवैले नबताए पनि नेपाली चलचित्र वृत्तमा ‘प्रेम गीत ३’को हिसाबकिताब मिलाउन बाँकी रहेको हल्ला छ । सम्भवत प्रदीपले राखेको सर्त पनि यही हिसाब मिलानको हुनसक्छ ।

तर, यो चाहिँ सत्य हो कि यी दुवै अलग अलग भएर गरेपछि दुवैका लागि चलचित्र बक्सअफिसमा सफल भएका छैनन् । सन्तोष सेनको ‘बलिदान’ पनि अपेक्षित भएन भने प्रदीपको ‘एक्टर टेक वान’, ‘एक्लो’, पिताम्बर’लगायतका चलचित्र पनि राम्रोसँग चलेनन् । त्यसैले यी दुई अब एक ठाउँ बाध्य भएर आउने र सँगै काम गर्ने सम्भावना छ ।