पतनको बाटोमा स्टारडम, अब मूल्य घट्छ कि बढ्छ ?
काठमाडौं । नेपालमा स्टारडम चल्छ कि कथा भन्ने बहस भएको थुप्रै भइसक्यो । धेरै जसो नेपालमा स्टारडम चल्दैन भन्नेमा सहमत छन् । तर, पनि मंहगोमा कलाकार लिने चलन हटेको छैन । ५० लाखसम्म तिरेर कलाकार लिने मेकरको संख्या ठूलै भइसक्यो ।
तर, स्टारडम कति चल्छ भन्ने माघ १ ले नै प्रमाणित गरिसक्यो । माघे संक्रान्तिको अवसर पारेर स्टार रहेका सिनेमा रिलिज भएका थिए, ‘भाईरल गोर्खे’ र ‘मिरमिरे’ । यी चलचित्रमा दयाहाङ राई र सौगात मल्ल थिए । र, अर्का कलाकार प्रकाश सपूत पनि थिए ।
तर, यी चलचित्रले करिबकरिब बक्सअफिसमा असफल भए भन्दा हुन्छ । बिदामा पनि दर्शक यी चलचित्र हेर्न गएनन् । स्टार भनेर चिनिने दयाहाङ राई, सौगात मल्ल र प्रकाश सपूतका चलचित्र नै चलेनन् ।
यी चलचित्रले आशा गरेजस्तो दर्शक बटुल्न सकेनन् । सामान्यतया स्टारका चलचित्र कम्तीमा सुरुका दुई दिन चल्छन् भन्ने हो । सिनेमा राम्रो होस् वा नराम्रो, कलाकारलाई हेर्न हलमा दर्शक आउँछन् भन्ने हो । त्यसैले स्टारका चलचित्रले इनिसियल व्यापार राम्रो गर्छन् भनिन्छ । स्टारपावर भनेको पनि यही नै हो । तर, बक्सअफिसमा माघ १ गतेबाट रिलिजमा आएका चलचित्रमा यो देखिएन ।
‘भाईरल गोर्खे’ र ‘मिरमिरे’ अब करिब करिब उत्रिने चरणमा पुगिसकेका छन् । यी चलचित्रमा रहेका स्टारले पनि हलमा काम गरेको देखिएन । स्टारको पावरले इनिसियलमा राम्रो मात्रै नभएको होइन, त्यसपछि पनि हलमा अकुपेन्सी बढेन । जसका कारण अब यी चलचित्र धेरै लामो समय हलमा टिक्ने अवस्था देखिएन ।
माघ १ मात्रै होइन, यस्ता थुप्रै चलचित्र छन्, जसमा स्टार कलाकार छन् तर सिनेमा चलेका छैनन् । यसले स्टार पतनको बाटोमा रहेको हो ? भन्ने प्रश्न जन्माएको छ ।
स्टारमा विश्वास छैन भनौँ भने निर्माता र निर्देशक जति पनि पारिश्रमिक तिरेर, कलाकारलाई पर्खिएर चलचित्रका काम गराइरहेका छन् । स्टार छन् र, त्यसले काम गरेको छ भनौँ भने हलमा त्यसको असर शून्य प्राय देखिन्छ । त्यसैले मेकरप्रति रहेको विश्वास हेर्ने हो भने नेपाली सिनेमा उद्योगमा स्टार छन्, बक्सअफिस हेर्ने हो भने छैनन् । त्यसैले माथिजस्तै अलि छुच्चो शब्द प्रयोग गर्ने हो भने पतनको बाटोमा स्टार रहेको भन्न सहजै सकिन्छ ।
स्टारका चलचित्रल लगातार नचल्दै जाने हो भने अब के हुन्छ भन्ने प्रश्न उठ्न सक्छ । मेकरले महंगो पारिश्रमिक तिरेर कलाकार लिने तर त्यसको प्रभाव हलमा देखिएन भने स्टारको मूल्य घटाउने कि बढाउने भनेर निर्माताहरू सोच्ने बाध्य पो हुने हुन् कि ?



