बल्छी धुर्बे निर्देशित ‘गोबर गणेश’ को कमाइ १ करोड १४ लाख माथि
काठमाडौं । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ ले प्रदर्शनको १० दिनमा घरेलु बक्सअफिसमा १ करोड भन्दा माथि व्यापार गरेको छ ।
माघ १ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले पछिल्लो शनिबारसम्म देशब्यापी १ करोड १४ लाख ३५ हजार २ सय ६ रुपैयाँ कलेक्सन गरेको छ । यस अवधिमा चलचित्रका ४० हजार २ सय ३४ टिकट बिक्री भएका छन् ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः बक्सअफिस कलेक्सनअनुसार दोस्रो शनिबार माघ १० गते सम्म फिल्मको कमाइ १ करोड १४ लाख ३५ हजार २ सय ६ रुपैयाँ गरेको हो ।
ग्रामीण परिवेशमा हुर्केको गणेशको जीवन संघर्षको कथा समेटिएको छ । आफ्नो सपना पूरा गर्न सहर पसेपछि उसले सामना गर्नुपरेको चुनौतीलाई देखाइएको छ । जसमा आमाको सपना पूरा गर्न गाउँदेखि सहरमा आएको पात्रले गर्ने संघर्ष र उतारचढावको कथावस्तु समावेश छ ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा तयार भएको चलचित्रमा बल्छी धुर्बेसहित वर्षा सिवाकोटी, पूजन घिमिरे ‘पुकु’, पदम तामाङ, सीतादेवी तिमल्सिना लगायतको अभिनय छ ।
बल्छीको यो डेब्यु निर्देशकीय चलचित्र हो । यही चलचित्रबाट उनले ठूलो पर्दामा डेब्यु गरेका हुन् ।



