स्टार कलाकारको क्रेज देखिएन बक्स अफिसमा, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को व्यापार ५० लाख मुनि

काठमाडौं । माघे संक्रान्तिको अवसर पारेर माघ १ गतेदेखि प्रदर्शनमा आएका दुई चलचित्र ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ को व्यवसायिक नतिजा निराशाजनक देखिएको छ ।

नाम चलेका स्टार कलाकारहरू र ठूलो प्रचारप्रसारका बावजुद प्रदर्शनको १० दिन बितिसक्दा पनि दुवै चलचित्रले ५० लाख रुपैयाँको आँकडा छुन सकेका छैनन् ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको ‘सिनेपाः बक्सअफिस’ रिपोर्ट अनुसार माघ १० गते (शनिबार) सम्मको अवधिमा यी दुई चलचित्रको कमाइ सुस्त देखिएको हो ।

निगम श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘भाइरल गोर्खे’ ले १० दिनको अवधिमा ३४ लाख ५३ हजार ७६० रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

सामाजिक सञ्जालमा भाइरल बन्ने होडबाजी र त्यसले निम्त्याउने परिणाममाथि व्यङ्ग्य गरिएको यो कमेडी-ड्रामा हेर्न देशभरका हलहरूमा १० हजार ६०५ वटा टिकट बिक्री भएका छन् ।

सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यस चलचित्रमा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेलका साथै चर्चित सञ्चारकर्मी ऋषि धमला र सामाजिक सञ्जालबाट चर्चामा आएकी मिस पवीको समेत अभिनय रहेको छ ।

यता, वर्तमान समयका सर्वाधिक व्यस्त अभिनेता दयाहाङ राई र लोकगायक तथा अभिनेता प्रकाश सपूत अभिनित ‘मिरमिरे’ को अवस्था पनि उस्तै छ ।

यम शेर्पा निर्देशित यस चलचित्रले १० दिनमा ३३ लाख ७२ हजार ७१५ रुपैयाँ ग्रस कमाएको छ ।

टिकट बिक्रीको संख्यामा भने ‘मिरमिरे’ ले ‘भाइरल गोर्खे’ लाई झिनो अन्तरले उछिनेको छ । यस फिल्मका १० हजार ८१३ वटा टिकट बिक्री भएका छन् ।

बाबु र छोरीको भावनात्मक सम्बन्धलाई मुख्य कथा बनाइएको यस चलचित्रमा दयाहाङ र प्रकाशका अलावा सिर्जना निङलेखु, माओत्से गुरूङ, भोलाराज सापकोटा र छुल्ठिम गुरूङ लगायतको अभिनय छ ।

नेपाली चलचित्र क्षेत्रका ‘भरोसालाग्दा’ मानिने कलाकारहरू दयाहाङ राई र सौगात मल्ल एउटै समयमा पर्दामा आउँदा पनि दर्शक हलसम्म तानिन नसक्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बोर्डको तथ्याङ्कले नेपाली फिल्म उद्योगमा कलाकारको अनुहारले मात्रै चलचित्र चल्दैन भन्ने कुरालाई पुनः पुष्टि गरिदिएको छ । दुवै फिल्मको लगानी र प्रदर्शनको खर्च हेर्दा यो कमाइ निर्माताका लागि निकै ठूलो घाटा हो ।