पुन: एकसाथ देखिने भए विजय र रश्मिका
एजेन्सी । दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोन्डा र रश्मिका मन्डाना यतिबेला आफ्नो व्यक्तिगत जीवनका साथै व्यावसायिक सहकार्यका कारण पुनः चर्चा छन् । लामो समयदेखि उनीहरूको प्रेम सम्बन्ध र सम्भावित इन्गेजमेन्टको खबरले सञ्चारमाध्यममा हेडलाइन बनाइरहँदा, अब भने यो जोडी पर्दामा सँगै देखिने खबरले फ्यानहरूलाई थप उत्साहित तुल्याएको छ ।
‘पावर कपल’ का रूपमा चिनिएका विजय र रश्मिकाले आफ्नो व्यक्तिगत सम्बन्धको बारेमा मौनता साधेका छन्, तर पर्दामा उनीहरूको पुनरागमनले फ्यानहरूका लागि यो वर्षको सबैभन्दा ठूलो उपहार हुने निश्चित छ।
‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ जस्ता ब्लकबस्टर फिल्महरूमा उनीहरूको अन-स्क्रिन केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । लामो अन्तरालपछि उनीहरू फिल्म ‘राणाबाली’ मा पुनः रोमान्स गर्ने तयारीमा छन् । यो फिल्मको घोषणा भएदेखि नै दर्शकहरूले यसलाई प्रतिक्षित फिल्मको रूपमा हेरिरहेका छन् ।
यो चलचित्रलाई ‘श्याम सिंगा रोय’ फेम निर्देशक राहुल सांकृत्यायनले निर्देशन गर्दैछन् भने ‘पुष्पा’ जस्तो सफल फिल्म निर्माण गरेको ‘मैत्री मुभी मेकर्स’ ले यसलाई निर्माण गर्दै छ ।
हालै सार्वजनिक गरिएको टाइटल टिजरले ‘श्रापित भूमिको कथा’ उल्लेख गरिएको छ । यसले फिल्म ऐतिहासिक वा अलौकिक पृष्ठभूमिमा आधारित हुन सक्ने संकेत गरेको छ ।
पिरियड एक्सन ड्रामा हुने यस फिल्ममा विजय देवरकोन्डा ‘राणा बाली’ को शक्तिशाली भूमिकामा देखिनेछन् । रश्मिका मन्डानाले ‘जयम्मा’ नामक पात्रको भूमिका निभाउने छिन् ।
यस्तै, हलिउडको चर्चित फिल्म ‘द ममी’ का खलनायक अर्नोल्ड भोस्लुले यसै फिल्ममार्फत दक्षिण भारतीय फिल्म उद्योगमा डेब्यू गर्दै एक भयानक खलनायकको भूमिका निर्वाह गर्ने भएका छन् ।




