‘आ बाट आमा’को टिम प्रचारप्रसारमा लागि पोखरामा, के भन्छन् निर्देशक ?
काठमाडौं । यही माघ १६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘आ बाट आमा’का मुख्य कलाकारसहितको टिम पोखरा पुगेको छ ।
चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारप्रसारलाई व्यापक बनाउन कलाकारसहितको टिम पोखरा पुगेको हो । विपना थापा, पल शाह, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेलका साथमा फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली पोखरा पुगेका हुन् । पोखरा पुगेसँगै निर्माण टिमले प्रेसमिट राखेको निर्माता रसालीले बताए ।
उनका अनुसार पोखरामा फिल्मको बारेमा थप जानकारी गराइएको हो ।
निर्देशक चन्द्र पन्तले चलचित्रलाई थप प्रचारप्रसारमा सघाउन भारतबाट आएर अभिनेत्री विपना थापा, अर्का अभिनेता प्रदीप रावतले जोडबल गरिरहेको बताए । विपना र प्रदीपका अलवा नेपालमा रहेका अभिनेता पल शाह, उषा उप्रेती, सिमरन पन्त पनि उतिकै लागेका छन् ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा निर्देशक पन्तकै कथा तथा पटकथा रहेको छ । अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको यस फिल्मलाई नवराज उप्रेतीले खिचेका हुन् । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ ।



