पहिलो नेपाली महिला सिनेम्याटोग्राफर को हुन् ?
६ दशक लामो नेपाली चलचित्र उद्योगमा थुप्रै रेकर्ड छन् । ती मध्येको एउटा रेकर्ड चलचित्र ‘झेली’को नाममा छ ।
‘झेली’को नाममा रहेको रेकर्ड राखेकी हुन्, सवनम मुखियाले । सवनम नेपाली चलचित्र उद्योगको पहिलो महिला सिनेम्याटोग्राफर हुन् । वि.स. २०७० चैत १४ गते प्रदर्शनमा आएको ‘झेली’ फिचर फिल्मको छायांकन सवनमले गरेकी हुन् ।
फिचर फिल्म अगाडि उनले म्युजिक भिडियो र वृत्तचित्रहरूमा पनि क्यामेरा सम्हालेकी थिइन् ।
सवनमले काठमाडौंस्थित कलेज अफ फिल्म स्टडिजबाट सिनेम्याटोग्राफीमा स्नातक गरेकी छन् ।
‘झेली’लाई कमल दाहालले निर्देशन गरेका थिए । यो चलचित्रमा कलाकारहरू अनिल थापा, सुरबिना कार्की, अस्कर शर्मा, दिपासा बिसी, विष्णु रिजाललगायत थिए ।
‘झेली’लाई भेषमान श्रेष्ठले पहिलो पटक निर्माण गरेका थिए । मानिसमा रहने साना–ठूला स्वार्थ र ती स्वार्थ पूरा गर्न मानिसले गर्ने व्यवहारलाई चलचित्रको मुख्य विषय बनाइएको थियो ।
त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्रमा अधिकांश कलाकार नयाँ थिए ।




