‘रमिताको पिरती’बारे के भन्छिन् आना ?

काठमाडौं । माघ २३ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरका कारण चर्चामा छ । चोखो पिरतीको खोजीमा रहेकी रमिताको जीवनमा आउने उतारचढाव फिल्मको विषय छ ।

फिल्ममा रमिताको भूमिका आना शर्माले निर्वाह गरेकी छिन् । उनीसँगै फिल्ममा धिरज मगर र विनय श्रेष्ठको अभिनय रहेको छ । यसै फिल्ममार्फत गायक समीर श्रेष्ठले पनि अभिनय यात्राको सुरुआत गरेका छन् । यी तीनकै सेरोफेरोमा फिल्म घुमेको छ ।

फिल्ममा आना अभिनेत्री मात्र नभई कार्यकारी निर्माताको भूमिकामा पनि छिन् । महिला केन्द्रीत फिल्ममा पहिलोपटक देखिएकी आनाले ब्रेकअपपछि आफूलाई चिन्ने, स्वीकार्ने र रोज्ने एउटा भावनात्मक यात्राको कथा फिल्ममा रहेको बताइन ।

‘रमिता पात्रको भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा अघि बढाइएको छ । फिल्म ब्रेकअपबाट सुरु भए पनि यो केवल ब्रेकअपको कथा मात्र नभई, त्यसपछिको आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रा हो । “हामीले नियमित फिल्म भन्दा केही फरक रुपमा फिल्म तयार गर्ने कोसिस गरेका छन्”, आनाले भनिन् ।

उनले यस फिल्ममा देखिएको पात्र ‘रमिता’लाई तयार गर्न निर्देशक सुदिप्ताको साथ लिएकी थिइन् । “मैले छ महिना निर्देशकसँग बसेर उक्त पात्रलाई डेभलप गरेर, एक्सप्लोर गरेर एडप्ट गरेकी थिएँ, अहिले फिल्म रिलिज हुने बेला आउँदा उत्साहित छु । यो फिल्म, पात्र र भूमिका निकै खास छ, आश छ हामीले देखाएको स्टोरी पर्दामार्फत दर्शकसम्म पुग्ने छ”, उनले भनिन् ।

उनले फिल्म निर्माणको सुरुआतमा कलाकारका रूपमा मात्र स्क्रिप्ट सुनेर प्रोजेक्टमा आबद्ध भएपनि पछि निर्देशक सुदिप्ता र निर्माता सागर लम्सालसँग नजिकबाट काम गर्दै कार्यकारी निर्माताको भूमिका पाएको बताइन् ।

फिल्मले विशेषगरी युवा पुस्ता, युवतीहरूलाई लक्षित गर्दै महत्वपूर्ण सन्देश दिने शर्माको विश्वास छ । “पहिला आफूलाई माया गर्नुपर्छ, आफूलाई केयर गर्नुपर्छ, अनि मात्र अरूलाई माया दिन सकिन्छ भन्ने सन्देश फिल्मले दिन्छ”, उनले भनिन् ।

सोसल मिडियाको प्रभाव, बाह्य भ्यालिडेसनको खोजी र त्यसले व्यक्तिको मानसिक अवस्थामा पार्ने असरलाई पनि फिल्मले चित्रण गर्ने उनले बताइन् । रमिताको पात्र पनि एक चरणमा अरूको स्वीकृतिमा निर्भर हुने देखाइन्छ, जुन आजको पुस्तासँग गहिरो रूपमा सम्बन्धित रहेको उनको भनाइ छ ।

फिल्ममा समिर र आनाले निभाएका पात्रहरूको प्रेम सम्बन्धलाई गीतमार्फत प्रस्तुत गरिएको छ । ती गीतहरू प्रेमको सुरुआती चरण र पात्रहरूबीचको कनेक्सन देखाउन केन्द्रित छन् । आनाको लागि ‘रमिताको पिरती’ विशेष हुनुका तीन कारण छन् । पहिलो यो पूर्ण रूपमा महिलाको कथा हो, दोस्रो महिला निर्देशकद्वारा लेखिएको र निर्देशित फिल्म हो र तेस्रो उनले पहिलो पटक कार्यकारी निर्माताको भूमिकामा काम गर्न पाएकी छन् ।

सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन एसोसिएट निर्माता, निर्देशक समेत रहेका सुवास कोइराला सह निर्माता छन् भने सागर लम्साल निर्माता छन् ।

फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको छ । शिशिर विषंखे डीओपी रहेको फिल्मको सम्पादन सुनिल सिवाकोटीले गरेका छन् भने कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी रहेको छ ।