‘परिवर्तन’ले हलमा ‘परिवर्तन’ ल्याउँन सकेन, कलाकारको पारिश्रमिक ३६ लाख, कलेक्सन ३१ लाख
काठमाडौं । महँगो पारिश्रमिक र एक्सनका कारण चर्चामा रहेको चलचित्र ‘परिवर्तन’ बक्सअफिसमा निकै पछि परेको छ ।
चलचित्र प्रदर्शनमा आएको एक साता बितिसक्दा पनि यसले ५० लाखको आँकडा समेत छुन सकेको छैन । यसको व्यापारिक नतिजा निकै चिन्ताजनक देखिएको पुष्टि गर्छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको ‘सिनेपाः बक्सअफिस कलेक्सन’ रिपोर्टअनुसार गत ९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले १७ गते शनिबारसम्म जम्मा ३१ लाख ९ हजार ९२५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
एक साताको लामो अवधिमा देशभरका हलहरूबाट चलचित्रका जम्मा ११ हजार ६ वटा मात्र टिकट बिक्री भएका छन् ।
सुरुवाती दिनदेखि नै दर्शकको न्यून उपस्थितिको मारमा परेको चलचित्रले शनिबारको सार्वजनिक बिदामा समेत अपेक्षित व्यापार गर्न सकेन । विकास बोर्डको तथ्यांकले चलचित्रको व्यावसायिक असफलतालाई प्रस्ट पार्छ ।
यो चलचित्रको सबैभन्दा चर्चामा रहेको पक्ष कलाकारहरूको पारिश्रमिक थियो । स्रोतका अनुसार अभिनेत्री अञ्जना बराइलीले यस चलचित्रका लागि २० लाख रुपैयाँ बुझेकी थिइन् । अभिनेता सुशील श्रेष्ठले १६ लाख रुपैयाँ लिएका थिए ।
मुख्य दुई कलाकारलाई मात्र ३६ लाख रुपैयाँ पारिश्रमिक बुझाएका निर्माताले चलचित्रको एक साताको व्यापारबाट आफ्नो हिस्सा (सेयर) १० लाख रुपैयाँ पनि नपाउने देखिएको छ । सय रुपैयाँ कमाइ हुँदा हलको सेयर, वितरको सेयर र कर कटाएर निर्माताको हातमा करिब ३७ रुपैयाँ पर्छ ।
यस हिसाबले ३६ लाखको पारिश्रमिक लगानी गरेर १० लाख पनि फिर्ता नहुने स्थिति देखिएपछि चलचित्रका लगानीकर्तालाई ठूलो आर्थिक धक्का लागेको छ ।
छायांकनको समयमा कलाकारको महँगो पारिश्रमिकका कारण मिडियामा राम्रै चर्चा पाएको ‘परिवर्तन’ले हलमा भने कुनै ‘परिवर्तन’ ल्याउन सकेन ।
अर्को साता आउने चलचित्र विकास बोर्डको बक्स अफिसरिपोर्ट अनुसार यो चलचित्रले ५० लाखको आँकडा कटाउने सम्भावना न्यून रहेको छ । देशभरका सिनेमाहलहरुबाट करिब करिब यो चलचित्र उत्रिसकेको छ । भोलिका लागि केही हलले एक÷दुई शो मात्र दिएका छन् ।
पछिल्लो समय नेपाली फिल्म उद्योगमा कलाकारले लिने पारिश्रमिक र चलचित्रले गर्ने व्यापारबीच सन्तुलन नमिल्दा निर्माताहरू मारमा परिरहेका छन् । यसको पछिल्लो उदाहरण परिवर्तन पनि बनेको छ । तर, यो मात्रै लगानी नउठाने चलचित्र होइन । माघ १ गते रिलिज भएका चलचित्रको अवस्था पनि उस्तै दयनीय छ । ‘गोबर गणेश’ले बाहेक अरुले करोडको आंकडा छुन सकेका छैनन् ।
विजय केरुङको निर्देशनमा तयार भएको यस चलचित्रले देशमा विद्यमान भ्रष्टाचार, राजनीतिक बेथिति र अन्यायका विरुद्ध युवाहरू जाग्नुपर्ने सन्देश दिन खोजेको थियो ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील र अञ्जनाका अलावा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे लगायतका कलाकारहरूको छ ।
चलचित्रका निर्माता दीपक सिवाकोटी हुन् । निर्माता सिवाकोटीकै कथा रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र बन्दे प्रसादको सम्पादन रहेको छ ।




