रिलिज हुनुअघि नै विवादमा शाहिद कपूरको ‘ओ रोमियो’, निर्माता-निर्देशक विरुद्ध मुद्दा दायर
मुम्बई । बलिउड अभिनेता शाहिद कपूरको एक्सन थ्रिलर फिल्म ‘ओ रोमियो’ रिलिज हुनुअगावै कानुनी विवादमा फसेको छ ।
हुसेन शेख (ग्याङ्स्टर हुसैन उस्तारा) की छोरी सनोबर शेखले फिल्मको विषयवस्तुलाई लिएर आपत्ति जनाउँदै मुम्बईको एक अदालतमा मुद्दा दायर गरेकी छिन् । उनले फिल्मको प्रदर्शनमा पूर्ण रोक लगाउन माग गर्दै मुद्दा दायर गरेकी हुन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार हुसेन शेखकी छोरी सनोबर शेखले सोमबार आफ्ना वकिल डी.भी. सरोजमार्फत अदालतमा निवेदन दिँदै फिल्म ‘ओ रोमियो’का निर्माता साजिद नाडियाडवाला, निर्देशक विशाल भारद्वाज र पत्रकार हुसेन जैदी विरुद्ध मुद्दा दायर गरेकी छिन् ।
सनोबरको दाबी अनुसार यो फिल्म उनको बुबाको जीवनमा आधारित ‘अनधिकृत बायोपिक’ हो । उनले फिल्ममा आफ्नो बुबालाई अपराधी वा ‘गुण्डा’ को रूपमा गलत ढंगले चित्रण गरिएको र यसका लागि परिवारको अनुमति नलिइएको आरोप लगाएकी छिन् । यस चित्रणले आफ्नो परिवारको सामाजिक प्रतिष्ठामा गम्भीर असर पर्ने उनले जिकिर गरेकी छिन् ।
विवाद बाहिरिएपछि निर्देशक विशाल भारद्वाज र नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टले कानुनी सूचनाको जवाफ दिँदै आफ्नो धारणा राखेका छन् । उनीहरूले सनोबर शेखको दाबीलाई अस्वीकार गर्दै फिल्म ‘ओ रोमियो’ कुनै व्यक्तिको वास्तविक जीवनी नभई पूर्ण रूपमा काल्पनिक कथामा भएको बताएका छन् । उनीहरूले फिल्मले कसैको मानहानि नगर्ने तर्क गरेका छन् ।
सनोबर शेखले केवल सिनेमा हलमा मात्र नभई यो फिल्मलाई कुनै पनि ओटीटी प्लेटफर्म, टेलिभिजन च्यानल र अन्य डिजिटल माध्यमहरूमा समेत प्रसारण गर्न नपाउने गरी अन्तरिम आदेश ‘स्थायी निषेधाज्ञा’ जारी गर्न अदालतसँग माग गरेकी छिन् ।
फिल्म ‘ओ रोमियो’ आगामी फेब्रुअरी १३ मा विश्वभरका सिनेमा घरहरूमा रिलिज हुने कार्यतालिका छ । तर, मुम्बई सिभिल कोर्टले यस मुद्दाको सुनुवाइ आगामी फेब्रुअरी ६ मा गर्ने तय गरेको छ ।
अदालतले फेब्रुअरी ६ को सुनुवाइमा वादी (सनोबर शेख) को पक्षमा अन्तरिम आदेश जारी गरेमा फिल्मको रिलिज अनिश्चितकालका लागि रोकिन सक्छ । यदि अदालतले निर्माताहरूको ‘काल्पनिक कथा’ भन्ने तर्कलाई सदर गरेमा फिल्म तोकिएकै मितिमा दर्शकमाझ आउनेछ ।
यो फिल्म पत्रकार हुसेन जैदीको चर्चित पुस्तक “माफिया क्वीन्स अफ मुम्बई” को एक अध्यायमा आधारित रहेको बताइएको छ । शाहिद कपूरले यसमा मुख्य भूमिका निर्वाह गरेका छन् । अब सबैको नजर फेब्रुअरी ६ मा हुने अदालती फैसलामा टिकेको छ ।




