मृत्युपछि पनि ऋणको भारी बोकाउने कि आफूले तिर्न बाँकी पैसा तिर्ने हो ? आत्माले नधिक्कारोस्
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो !!
कविताको माथिका अंशले भनेजस्तै भयो, हजार विन्ती गरे पनि पत्रकार दिनेश सिटौला यो धर्तीमा रहेनन् । विरामी भएको खबर सञ्चार भएदेखि नै बचाउने अथक प्रयासबीच ४५ वर्षको अल्पायुमै उनको निधन भयो ।
पछिल्लो दशक उनी लेखनमा भन्दा पनि चलचित्रको मिडिया कोअर्डिनेटरका रूपमा बढी सक्रिय थिए । पत्रकार र चलचित्रकर्मीलाई जोड्ने भूमिकामा बढी समय खर्चिरहेका थिए ।
मिडिया कोअर्डिनेटर भनेको निर्मातासँग निश्चित पारिश्रमिक लिएर काम गर्ने हो । पत्रकार र चलचित्रकर्मीबीचको समय मिलाएको देखि समाचार पठाउनेसम्मको काम मिडिया कोअर्डिनेटरले गर्दै आएका छन् । सञ्चारमाध्यमलाई दिने विज्ञापनको निर्णय पनि गर्ने र उसैले विज्ञापन दिने र सो वापतको पैसा निर्मातासँग लिएर सम्बन्धित सञ्चार संस्थालाई दिने काम मिडिया कोअर्डिनेटरले गर्दै आएका थिए ।
दिनेशले पनि यही काम गर्दै आएका थिए । अहिले चलचित्रवृत्तमा र सामाजिक सञ्जालमा दिनेश निर्माताले विज्ञापनवापत दिने भनेर कबोल गरेको पैसा नदिँदा तनावमा रहेको विषय उठेको छ ।
निर्माताले पैसा दिन्छु भनेर मिडियामा विज्ञापन दिन लगाउने र त्यसबापतको पैसा नदिँदा दिनेश लामो समयदेखि तनावमा रहेको उनका सहकर्मीहरूले बताउँदै आएका छन् । यस्तो रकम करिब एक करोडको हाराहारीमा उठाउन बाँकी रहेको उनका सहकर्मीहरूले बताएका छन् ।
कतिपयलाई सहकारीबाट ऋण लिएर उनले विज्ञापनवापतको पैसा दिएको बताइएको छ । आफूले ऋण लिएर पैसा दिने तर निर्माताबाट उठाउन बाँकी पैसा नउठेपछि उनी त्यसको तनाव झेलिरहेका थिए ।
हम्मेसी निर्मातासँग कागजी सम्झौता नगरी फोन कलका भरमा काम गर्दै आएका उनीसँग सयौँ चेक नसटेर दराजमा थन्किएका छन् । आफूले लिने पैसा उठाउन नसकेकै कारण उनले तनावको शिकार हुनु परेको उनी निकटस्थहरूले बताउँदै आएका छन् ।
यही तनावबीच उनको मृत्यु भयो । अब उनले चलचित्रकर्मीको चलचित्र चलाउन लिएर ऋणको भारी परिवारलाई बोकाउने कि उठाउन बाँकी पैसा उठाउने भन्ने प्रश्न यतिबेला उठिरहेको छ ।
चलचित्र पत्रकार संघले उनले उठाउन बाँकी पैसा उठाउन पहल गर्ने निर्णय गरेको छ । सम्बन्धित निर्मातालाई इमान्दापरितापूर्वक दिन बाँकी पैसा दिन र नसटेका चेक फिर्ता लैजान संघले आग्रह गरेको छ ।
चलचित्र निर्माता संघका सदस्यहरूले पनि अनौपचारिक रूपमा यसका लागि पहल गर्ने बताएका छन् । यदि, सामान्य पहदललाई बेवास्था गरे बाँकी रहेको पैसा नदिने निर्माताको तस्बिर, नसटेको चेक र उसले दिन बाँकी रहेको रकमको विवरण सार्वजनिक गर्ने आन्तरिक तयारी छ ।
कतिपय निर्माताले पनि तत्काल दिनेशलाई दिन बाँकी रकम उपलब्ध राउन सामाजिक सञ्जालबाट आग्रह गर्न थालेका छन् । निर्मातालाई दबाब नहोस् र हतोत्साही नहुन् भनेर दबाब दिन हुँदैन भन्ने इमानदार सोच भएको व्यक्तिलाई मरेपछि पनि ऋणको भारी बोकाउने कि होइन यो निर्माताको नैतिकताको प्रश्न हो । निधनपछि पनि थोरै मात्रै पनि दया पलाउँदैन भने दिनेशको आत्माले सधैँ धिक्कारिरहनेछ ।




