चलचित्र विकास बोर्डले दिने १ हप्ते घोडचढी तालिम २४ गतेदेखि
काठमाडौं । चलचित्र विकास बोर्डले दक्षता अभिवृद्धि वर्ष २०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकार तथा प्राविधिकहरूको सीप विकास गर्ने उद्देश्यले एकहप्ते घोडचढी तालिम सञ्चालन गर्ने भएको छ । तालिम माघ २४ गतेदेखि सुरु हुनेछ ।
ऐतिहासिक, पौराणिक, एक्सन तथा साहसिक चलचित्र निर्माणमा घोडचढी एक अत्यावश्यक सीपका रूपमा स्थापित हुँदै गइरहेको सन्दर्भमा, कलाकार र स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित र व्यावसायिक बनाउने लक्ष्यसहित यो तालिम आयोजना गरिएको बोर्डले जनाएको छ ।
उक्त तालिम कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न चर्चित तथा अनुभवी कलाकारहरूको सहभागिता रहनेछ । तालिम अवधिभर व्यावहारिक अभ्यास, सुरक्षा मापदण्ड, घोडासँगको तालमेल, क्यामेरासँगको समन्वय तथा एक्शन दृश्यका लागि आवश्यक आधारभूत सीपमा प्रशिक्षण प्रदान गरिनेछ ।
“नेपाली चलचित्रमा ऐतिहासिक, पौराणिक र एक्सन कथावस्तु बढ्दै गएको सन्दर्भमा घोडचढी जस्तो सीप अब वैकल्पिक होइन, अनिवार्य बन्दै गएको छ,” चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले भने, “कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित र व्यावसायिक बनाउने उद्देश्यले यो तालिम सुरु गरिएको हो ।” यसले चलचित्रको गुणस्तर बढाउनुका साथै नेपाली सिनेमाको अन्तर्राष्ट्रियस्तर उकास्न सहयोग पुर्याउने उनको विश्वास छ ।



