हलमा ‘आ बाट आमा’को क्रेज, दर्शक भेट्न निस्किए टिम
काठमाडौं । आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको चलचित्र ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा सुखद व्यापारिक सुरुवात गरेको छ ।
सहिद दिवसको अवसर पारेर गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले प्रदर्शनको पहिलो दिन औसत सुरुवात गरे पनि शनिबार र आइतबार भने उत्साहप्रद अकुपेन्सी हासिल गर्यो ।
वैदेशिक रोजगारी र त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको यो चलचित्रको कथादेखि कलाकारहरूको अभिनयको उत्तिकै प्रशंसा भइरहेको छ । कतिपयले फिल्मको सिक्वेलको समेत माग गरेका छन् ।चलचित्रको बलियो ‘वर्ड अफ माउथ’का कारण सोमबार पनि सिनेमा हेर्ने दर्शकको चापमा वृद्धि देखिएको छ ।
चलचित्रले व्यापारसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण पक्ष उत्साहित देखिएको छ । यही उत्साहका बीच चलचित्रको टिम मोफसलका दर्शकलाई भेट्न मंगलबार पूर्वी नेपाल पुगेको थियो ।
चलचित्रका प्रमुख कलाकार अभिनेता पल शाह, अभिनेत्री विपना थापा, उषा उप्रेती, सिम्रन पन्त र साइग्रेस पोखरेलसहितको टोलीले इटहरी, धरान, विराटनगर, दमक र बिर्तामोडका हलहरूमा पुगेर दर्शकसँग साक्षात्कार गरेका छन् ।
“हामी हलमै पुगेर दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिनेछौँ, जसले हामीलाई थप ऊर्जा दिनेछ,” निर्देशक चन्द्र पन्तले बताए ।
चन्द्र पन्तकै कथा र निर्देशनमा तयार भएको यस फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत (गजनी भिलेन), उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, रचना गौतम लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा निर्देशक पन्तकै कथा तथा पटकथा रहेको छ । अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको यस फिल्मलाई नवराज उप्रेतीले खिचेका हुन् ।
चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ ।




