आलोचना, ट्रोल र ‘साइबर बुलिङ’का कारण त्रसित कलाकार, ट्रोल हुने डरले माफी माग्दै स्मारिका

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा पछिल्लो समय वैचारिक ध्रुवीकरण तीव्र छ । सामाजिक सञ्जालमा हुने आलोचना, ट्रोल र ‘साइबर बुलिङ’का कारण नेपाली कलाकारहरू मनोवैज्ञानिक त्रासमा पर्न थालेका छन् ।

कुनै पनि राजनीतिक दल वा विवादित विषयसँग जोडिँदा दर्शकको कोपभाजनमा परिने डरले कलाकारहरू आफ्नो व्यावसायिक काममा समेत स्पष्टीकरण दिनुपर्ने अवस्थामा पुगेका छन् ।

केही समयअघि लोकप्रिय गायक तथा अभिनेता प्रकाश सपूतले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दा र एमालेको कार्यक्रममा देखिँदा सामाजिक सञ्जालमा ठुलो स्तरको ‘बहिष्कार’ र ‘ट्रोल’को सामना गर्नुपरेको थियो ।

यसै क्रममा चर्चित टिकटक स्टार एवं मोडल स्मारिका ढकालले नेकपा (एमाले) को चुनावी गीतको म्युजिक भिडियोमा अभिनय गरेको विषयलाई लिएर सार्वजनिक रूपमै क्षमायाचना गरेकी छिन् ।

सोमबार सामाजिक सञ्जाल टिकटकमा एक भिडियो सन्देश जारी गर्दै स्मारिकाले उक्त म्यूजिक भिडियो सार्वजनिक हुनु अगावै भावुक मुद्रामा माफी मागेकी हुन् ।

स्मारिकाले माफी माग्नुको मुख्य कारण पनि सपूतको जस्तै सम्भावित ‘डिजिटल अट्याक’ बाट बच्ने प्रयासले गरेको देखिन्छ ।

स्मारिकाले आफू अन्जानमा उक्त भिडियोको हिस्सा बन्न पुगेको दाबी गरेकी छिन् । उनका अनुसार उनी पहिलेदेखि नै काम गरिरहेको प्राविधिक टोलीको निमन्त्रणामा छायांकनका लागि पुगेकी थिइन् । तर, छायांकन स्थलमा पुगेर मेकअप गरिसकेपछि मात्र उक्त गीत राजनीतिक दल एमालेसँग सम्बन्धित रहेको जानकारी पाएको उनले बताएकी छिन् ।

“मलाई पहिले गीतबारे भनिएको थिएन । मेकअप गरिसकेपछि मात्र यो एमालेको गीत हो भन्ने थाहा भयो । त्यसपछि मेरो मुड खराब भयो र काम नगर्ने सोच बनाएकी थिएँ,” उनले भनेकी छिन्, “तर निर्माण टोलीले कलाकारको रूपमा अभिनय गर्दा केही फरक पर्दैन भन्दै दबाब दिएपछि मैले सुटिङ पूरा गरेँ ।”

सुटिङ सकिएपछि पनि आफूलाई गल्ती गरेको महसुस भएको र मानसिक तनाव भएको स्मारिकाले उल्लेख गरेकी छिन् । साथै, उनले भिडियो सार्वजनिक नगर्नका लागि निर्माण पक्षलाई सुटिङमा लागेको सम्पूर्ण खर्च आफूले नै तिरिदिने प्रस्ताव समेत राखेको बताएकी छन् ।

उनले सार्वजनिक गरेको भिडियोमा भनेकी छिन्, “मैले लागेको खर्च दिन्छु, भिडियो ननिकाल्नु भन्दा पनि उहाँहरूले मान्नुभएन ।”

आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको प्रष्ट पार्दै उनले भनिन्, “मलाई धेरै डर लागिरहेको छ । मलाई माफ गरिदिनु होला । म केवल एक कलाकार हुँ, कुनै पार्टीको मान्छे होइन ।”

स्मारिकाको यो भनाइलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू दुई धारमा बाँडिएका छन् । धेरैजसोले कलाकारलाई पेसा र निजी विचारलाई अलग राख्न सुझाव दिएका छन् ।

अर्कोतर्फ स्मारिकाको माफी माग्ने शैलीलाई ‘अतिवादी’ र ‘अव्यावसायिक’ भनेका छन् । कतिपयले भने काम गर्नुअघि नै सम्झौता र विषयवस्तुबारे सचेत नहुनु कलाकारको कमजोरी भएको औँल्याएका छन् ।

यो घटनाले नेपाली कलाकारहरू सामाजिक सञ्जालको ‘ट्रोल’ र ‘साइबर बुलिङ’बाट कति भयाभित छन् भन्ने देखाउँछ । कलाकारहरूले आफ्नो सिर्जनात्मक स्वतन्त्रता प्रयोग गर्नुभन्दा पनि “भीडले के भन्ला ?” भन्ने डरले काम गर्नुपर्ने वा काम गरिसकेपछि स्पष्टीकरण दिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । यसले कलाकारहरूमा एक प्रकारको ‘सेल्फ-सेन्सरसिप’ पैदा गरेको छ ।

एउटा कलाकारले कुनै विज्ञापन, फिल्म वा गीतमा अभिनय गर्नु उसको व्यावसायिक काम हो । तर, नेपालको सन्दर्भमा कलाकारको व्यावसायिक कामलाई उसको व्यक्तिगत राजनीतिक विचारसँग जोडेर हेर्ने गरिन्छ । कलाकार “पात्र” मात्र हो भन्ने कुरा आम दर्शक र कहिलेकाहीँ स्वयम् कलाकारले पनि बुझ्न वा बुझाउन नसक्दा यस्ता विवादहरू उब्जिने गरेका छन् ।