चुनावी रन्कोमा दलहरूलाई दयाहाङको प्रश्न- मसँग एक भोट छ, माग्ने आधार के छ ?
काठमाडौं । मुलुकमा चुनावी सरगर्मी बढेसँगै यसको राप र तापले नेपाली रजतपटलाई पनि नराम्ररी छोएको छ ।
आगामी २१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय भएसँगै कलाकारहरू कित्ताकाट हुने क्रम तीव्र छ । यो निर्वाचनमा कलाकारहरूको सक्रियता विगतको भन्दा निकै फरक र बाक्लो छ । कोही राजनीतिक दलको झण्डा बोकेर चुनावी मैदानमा होमिएका छन् भने कोही दलीय आबद्धता खुलेरै प्रदर्शन गरिरहेका छन् ।
तर, यही भीडमा अभिनेता दयाहाङ राईले भने भिन्न धार रोजेका छन् । उनले कुनै दलको पक्षधरता नलिई एक सचेत मतदाताको रूपमा राजनीतिक दल र उम्मेदवारहरूलाई प्रश्न सोधेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो एउटा तस्बिर सेयर गर्दै दयाहाङले शक्तिमा रहेका र शक्ति खोजिरहेका दलहरूलाई प्रश्न गरेका छन्, ‘देशमा चुनाव आइरहेछ । मसँग एक भोट छ । यो भोट माग्ने तपाईंसँग आधार के छ ?’
उनले सोधेको यो प्रश्नले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । उनको यो अभिव्यक्तिले केवल एक कलाकारको जिज्ञासा मात्र होइन, आम निरास मतदाताको मनोविज्ञानलाई समेत प्रतिनिधित्व गरेको छ ।
कलाकारहरूको सक्रियता यो निर्वाचनमा विगतको भन्दा निकै फरक र बाक्लो छ । केही कलाकारहरूले नयाँ र पुराना दलबाट उम्मेदवारी घोषणा गरिसकेका छन् भने कतिपय कलाकारहरू प्रत्यक्ष रूपमा पार्टीका र्याली र सभाहरूमा सम्बोधन गर्दै हिँडिरहेका छन् ।
यस्तो ध्रुवीकरणको बीचमा दयाहाङले भने आफूलाई ‘मतदाता’ को हैसियतमा सीमित राख्दै दलहरूको कार्यक्षमता र एजेन्डामाथि प्रश्न उठाएका हुन् ।
निर्वाचन आयोगले तयारी तीव्र पारिरहँदा र सरकारले फागुन २१ को मितिलाई अर्जुनदृष्टि लगाइरहँदा दयाहाङको यो प्रश्नले एउटा कुरा प्रष्ट पारेको छ– यसपटक कलाकारहरू केवल प्रचारका साधन मात्र बन्ने छैनन्, उनीहरूले खबरदारी पनि गर्नेछन् ।
तटस्थ बसेरै राजनीतिक अभिव्यक्ति दिइरहेका दयाहाङको यो प्रश्नको जवाफ दलहरूले व्यवहारमा दिन्छन् वा केवल चुनावी नारामा, त्यो भने हेर्न बाँकी छ । तर, दयाहाङको यो एउटा प्रश्नले चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूलाई भने पक्कै सोच्न बाध्य बनाएको छ ।





