कुकुरले अभिनय गरेको पहिलो चलचित्र कुन हो ?

काठमाडौं । नेपाली चलचित्र उद्योगमा केही त्यस्ता रेकर्ड पनि छन्, जो मान्छेका नाममा होइन जनावरका नाममा छन् । केही घोडाका नाममा, केही बाजका नाममा त केही कुकुर र बाँदरका नाममा ।

आजको फिल्मी रेकर्ड सेक्सनमा हामी कुकुरले नेपाली चलचित्र उद्योगमा बनाएको एक ऐतिहासिक रेकर्डको चर्चा गर्नेछौँ । कुकुरको अभिनय रहेको पहिलो चलचित्र कुन हो ?

यदि, तपाईंले चलचित्र ‘भाउजु’ हेर्नु भएको छ भने त्यहाँ कुकुर देख्नु भएको छ होला । त्यो नै नेपाली चलचित्रमा कुकुरको अभिनय रहेको पहिलो घटना हो । अथवा कुकुरको अभिनय रहेको पहिलो चलचित्र ‘भाउजु’ हो ।

‘भाउजु’लाई राजेन्द्र शलभले निर्देशन गरेका थिए । यो उनको दोस्रो निर्देशन थियो । राजेन्द्रले निर्देशन गरेका चार चलचित्रमध्ये यो सबैभन्दा सफल चलचित्र थियो ।

शम्भू ढुंगाना, लिलाराज शाक्य र शंकरप्रसाद कोइराला यो चलचित्रका निर्माता थिए । कथा अभिनास श्रेष्ठको रहेको थियो । पटकथा सदेनको रहेको थियो भने संवाद ब्रजेश खनालले लेखेका थिए ।

चलचित्र ‘भाउजु’मा मोती नामको कुकुरको अभिनय देख्न सकिन्छ ।

यो चलचित्र वि.स. २०५० साल असार २ गते रिलिज भएको थियो । यो चलचित्रको मुख्य भूमिकामा राजेश हमाल, करिश्मा मानन्धर, नीर शाह, सुभद्रा अधिकारी, सुनील थापालगायत कलाकारको अभिनय रहेको थियो ।

यो चलचित्र सूर्योदय फिल्मस् प्रालीको ब्यानरमा बनेको थियो ।