व्यवसायिक र पारदर्शी बन
चलचित्र पत्रकार दिनेश सिटौलाको निधनसँगै जबरजस्त एउटा विषय उठ्यो । विषय हो– पारिश्रमिक । काम लगाउने तर पारिश्रमिक दिन ढिलो गर्ने, नदिने वा दिए पनि लामो समय झुलाएर दुःख दिने ।
कलाकारले धेरै पारिश्रमिक लिएको र कलाकारलाई कबोल गरेअनुसारको पारिश्रमिक समयमै नदिँदा कलाकारले चलचित्र बीचमै छोडेको, प्रचारमा नहिँडेको वा निर्मातासँग सम्बन्ध बिग्रिएको विषय त आइरहेकै हो । तर, यो पटक फरक विषयले प्रवेश पायो ।
मिडिया कोअर्डिनेटरले पाउने वापतको पैसा नपाउँदा दिनेश तनावमा थिए, कतै त्यही तनावले त उनी मृत्युको मुखमा पुगेका होइनन् भन्ने प्रश्न उठेपछि किन निर्माताले दिनेशलाई दिनुपर्ने रकम समयमै दिएनन् भन्ने विषय जोडतोडका साथ उठिरहेको छ ।
दिनेशको मृत्युको कारण निर्माताले पैसा नदिएकै कारण भएको हो भनेर सतप्रतिशत ठोकुवा गर्न मिल्दैन, किन भने मेडिकल्ली यस्तो हुन्छ कि हुँदैन हामीलाई थाहा छैन । यो चिकित्सकले भन्ने विषय हो ।
तर, उनी निर्माताले पैसा नदिँदा समस्यामा थिए भन्ने धेरैले देखेको र स्वीकार गरेको विषय हो ।
काम गरेपछि पैसा दिनुपर्छ, कसैको पनि श्रम शोषण गर्न पाइँदैन । यसमा कसैको पनि दुई मत नहोला । कि काम नलगाउनु प¥यो, लगाएपछि तोकिएको पारिश्रमिक दिनुपर्छ ।
अहिले यही विषयमा चलचित्रमा केही निर्माता र वितरकबीच फेसबुकमा जुहारी चलिरहेको छ । एकले अर्कोलाई गाली गरिरहेका छन् । कसैले कसैलाई गाली गर्नै पर्दैन । आफू इमान्दार भएर दिनु पर्ने पैसा दिए पुग्छ, लिनुपर्ने पैसा लिए पुग्छ । पारदर्शी भए मात्रै पुग्छ । नैतिकवान भए मात्रै पुग्छ ।
सबै काम गर्ने व्यवसायिक भए पुग्छ । काम लगाएपछि मेरो चलचित्रले कमाएन, घाटामा गयो त्यसैले म पैसा दिन सक्दिन भन्न पाइँदैन । के फाइदामा गएर लाखौँ वा करोडौं कमाएको खण्डमा त्यसको हिस्सा भन्दै निर्माताले तोकिएको भन्दा बढी पैसा दिन्छन् ? पक्कै दिँदैनन् । कसैले दिएका छन् भने त्यो उसको तजबिज हो । अपबाद हो । दिनै पर्छ भन्ने छैन । त्यसैले तर चलचित्र चलेन त्यसैले दिन सक्दिन भनेर उम्किन मिल्दैन ।
दिन सक्दिन भन्ने लाग्छ भने सुरुमै सेयरमा राख्नुपर्छ । मान्छन् भने ठिक छ, कसैको आपत्ति रहने कुरा भएन । होइन भने तोकिएको रकम दिनै पर्छ ।
उच्च व्यवसायिकता प्रदर्शन गर्न नसक्ने हो भने यो चलचित्र उद्योग झन् झन् बदनाम हुँदै जानेछ । इज्जत बिहीन उद्योग भनेर बदनामको दलदलमा फस्दै जानेछ । यसबाट बच्न सबै इमानदार र नैतिकवान बनौं, कसैले कसैको आलोचना गर्नै पर्दैन ।




