‘कुमारी’ र ‘रमिताको पिरती’ आजबाट हलमा

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ एकसाथ रिलिज भएका हुन् ।

व्यापक प्रचारप्रसारसहित ‘कुमारी’ र न्यून प्रचार गरेर ‘रमिताको पिरती’ आजबाट दर्शकमाझ आएका हुन् ।

‘कुमारी’को प्रमुख भूमिकामा अभिषेक खड्का र आकृति राजभण्डारी छन् । दिनेश राउतले निर्देशन गरेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा प्रेम, संघर्ष र पारिवारिक अन्तद्र्वन्द्वलाई चित्रण गरिएको छ ।

‘रमिताको पिरती’मा आना शर्मा, धिरज मगर, विनय श्रेष्ठ र समीर श्रेष्ठ मुख्य भूमिकामा छन् । आना अभिनेत्री मात्र नभई कार्यकारी निर्माताको भूमिकामा पनि छिन् । महिला केन्द्रीत फिल्ममा पहिलोपटक देखिएकी आनाले ब्रेकअपपछि आफूलाई चिन्ने, स्वीकार्ने र रोज्ने एउटा भावनात्मक यात्राको कथा फिल्ममा रहेको बताएकी छन् ।

यो चलचित्रलाई सुदिप्ताले निर्देशन गरेकी छन् । सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन एसोसिएट निर्माता, निर्देशक समेत रहेका सुवास कोइराला सहनिर्माता छन् भने सागर लम्साल निर्माता छन् ।

फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको छ । शिशिर विषंखे डीओपी रहेको फिल्मको सम्पादन सुनिल सिवाकोटीले गरेका छन् भने कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी रहेको छ ।