‘आ बाट आमा’ हिट भएको घोषणा : पलको रेकर्ड र ‘हिट’को दाबीमा कति सत्यता ?
काठमाडौं । आमा र छोराको भावनात्मक सम्बन्धलाई पर्दामा उतारेको चलचित्र ‘आ बाट आमा’ प्रदर्शनको पहिलो हप्ता व्यावसायिक रूपमा सुखद देखिएको छ ।
अघिल्लो शुक्रबारदेखि प्रदर्शनमा आएको यस चलचित्रको निर्माण पक्षले एक साताको कमाइ सार्वजनिक गर्दै आफूलाई ‘हिट’ घोषणा गरेको छ ।
चलचित्रका निर्देशक चन्द्र पन्तले सामाजिक सञ्जालमार्फत चलचित्र ‘आ बाट आमा’को पहिलो साताको व्यापारिक रिपोर्ट सार्वजनिक गर्दै ‘हिट’ भएको घोषणा गरेका छन् ।
उनले सेयर गरेको पोस्टर अनुसार चलचित्रले देशभरका हलहरूबाट एक सातामा ३ करोड १८ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाएका कारण चलचित्रले यो कमाइ सम्भव भएको निर्माण पक्षको भनाइ छ ।
निर्देशक पन्तले सार्वजनिक गरेको पोस्टरमा ‘आ बाट आमा’लाई पल शाहको करियरकै पहिलो सातामा सर्वाधिक कमाइ गर्ने चलचित्र भनेर दाबी गरिएको छ । तर, तथ्यांकलाई केलाउने हो भने यो दाबी पूर्ण सत्य देखिँदैन ।
यसअघि पल शाह अभिनित सुपरहिट चलचित्र ‘शत्रु गते’ले पहिलो साता करिब ४ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । जबकी ‘आ बाट आमा’ को कमाइ ३ करोड १८ लाख मात्र छ । त्यसैले कुन आधारमा यसलाई पल शाहको ‘नम्बर वान’ कमाइ भनियो ? यसमा पलले अब्जेक्सन जनाएनन् ? यो दर्शक झुक्काउने रणनीति मात्र हो अथवा हिट घोषणा गर्न निर्माताले हतार गरेका हुन् भन्ने प्रश्न जन्माएको छ । त्यसो त हिट कचचित्र भन्ने क्राइट एरिया के हो भन्ने पनि हो ।
चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकलाई आधार मान्ने हो भने ‘आ बाट आमा’ले पलको अघिल्लो रेकर्ड तोड्न अझै केही संघर्ष गर्नुपर्नेछ ।
चलचित्रले आफूलाई ‘हिट’ घोषणा गरे पनि आर्थिक हिसाबले यसले अझै केही माइलस्टोन पार गर्न बाँकी छ । निर्देशक पन्तले आर्ट खबरलाई दिएको जनकारी अनुसार यो चलचित्रको निर्माण लागत १ करोड ५७ लाख रुपैयाँ रहेको छ । निकट स्रोतका अनुसार चलचित्रको कुल निर्माण लागत (प्रचारप्रसारसहित) करिब २ करोड रुपैयाँ रहेको बुझिएको छ ।
निर्माताको हातमा एक करोड ग्रकलेक्सन हुँदा करिब ३७ लाख सेयर आउँछ । यसले पनि लगानी उठिसक्यो वा बाँकी छ भन्ने आफैँ हिसाब गर्न सकिन्छ । तर, डिजिटल राइट्स र फरेन राइट्सबाट कति रकम आयो त्यो भने निर्माणपक्षले खुलाएको छैन ।
नेपाली चलचित्र उद्योगमा सेयर बाँडफाँटको गणित निकै जटिल छ । कुनै पनि चलचित्रले गर्ने कुल व्यापारको सबै पैसा निर्माताको गोजीमा जाँदैन । बाँडफाँड (सेयरिङ) नियम अनुसार कुनै चलचित्रले आफ्नो लगानी सुरक्षित गरेर मुनाफा कमाउन (हिट हुन) लागतको कम्तीमा ३ गुणा बढी ग्रस कमाइ गर्नुपर्छ ।
३ करोड १८ लाख ग्रस कलेक्सन हुँदा करकट्टी र हल सञ्चालकको ५० प्रतिशत सेयर काटेर निर्माताको हातमा करिब १ करोड ३० लाख देखि १ करोड ४० लाख मात्र पुग्छ । यस हिसाबले ‘आ बाट आमा’ले ‘हिट’ को वास्तविक ट्याग पाउन कम्तीमा साढे ६ करोड ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ । हालको ३ करोड १८ लाखको कमाइलाई हेर्दा चलचित्र नाफामा जान अझै करिब ३ करोड रुपैयाँ कमाउनु पर्ने देखिन्छ ।
यदि, चलचित्रको बजेट २ करोड हो भने, निर्माता अझै ६०–७० लाख घाटामै छन् । लगानी नै नउठेको अवस्थामा चलचित्र कसरी ‘हिट’ भयो ? । के ‘आ बाट आमा’ले ओभरसिज र डिजिटल राइट्सबाट लगानी सुरक्षित गरिसकेको हो ? यदि होइन भने, व्यापारिक रूपमा ‘ब्रेक इभन’ (लगानी उठ्ने विन्दु)सम्म नपुग्दै ‘हिट’को पोस्टर टाँस्नु कत्तिको न्यायसंगत छ ? निर्माणपक्षलाई प्रश्न छ ।
व्यापारिक गणित जे–जस्तो भए पनि चलचित्र ‘आ बाट आमा’ले हलमा दर्शकलाई रुवाउन भने सफल भएको छ । ‘रुवाउने फिल्म’भन्दै सामाजिक सञ्जालमा भइरहेको चर्चा र भावनात्मक कथावस्तुले गर्दा यस चलचित्रले सबै उमेर समूहका दर्शकलाई आकर्षित गरेको छ ।
विशेषगरी आमा र छोराको सम्बन्धको कथाले गर्दा चलचित्रको व्यापार स्थिर रहने र यो ‘लामो रेसको घोडा’ बन्न सक्ने संकेत देखिएको छ । चलचित्रको दोस्रो साताको प्रदर्शन र दर्शकको बढ्दो चापले यसको भविष्य अझ स्पष्ट पार्नेछ ।
चलचित्रले भावनात्मक रूपमा दर्शकलाई जित्नु र बक्सअफिसमा ‘हिट’ हुनु दुई अलग कुरा हुन् । ३ करोड १८ लाखको कमाइ नेपाली बजारका लागि सुखद त हो, तर यसलाई पल शाहको ‘ऐतिहासिक रेकर्ड’ र चलचित्रलाई ‘सुपरहिट’ भन्नु तथ्यांकले हतार गरेको देखाउँछ ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेत्री विपना थापा र बलिउडका चर्चित भिलेन प्रदीप रावत (गजनी फेम्ड)को अभिनय मुख्य आकर्षण बनेको छ । साथमा पल शाह, चर्चित मोटिभेसनल स्पिकर साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायतको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा निर्देशक पन्तकै कथा तथा पटकथा रहेको छ । अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको यस फिल्मलाई नवराज उप्रेतीले खिचेका हुन् ।
चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ ।




