पर्दाका ‘छोटा डन’लाई ऋणले पुर्‍यायो जेल

मुम्बई । पर्दामा आफ्नो अभिनयले करोडौँलाई हँसाउने बलिउड अभिनेता राजपाल यादव अहिले वास्तविक जीवनमा ठूलो कानुनी संकटमा फसेका छन् ।

चेक बाउन्सको पुरानो मुद्दामा दिल्ली उच्च अदालतले कुनै पनि सहुलियत दिन अस्वीकार गरेपछि यादवले बिहीबार अपराह्न दिल्लीस्थित तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् ।

अदालतले उनलाई ४ फेब्रुअरी २०२६ सम्म जेल अधिकारीसमक्ष उपस्थित हुन अन्तिम समयसीमा दिएको थियो । भारतीय सञ्चार माध्यमले बिहीबार अपराह्न ४ बजे अभिनेता यादवले जेल प्रशासनसमक्ष सरेन्डर गरेको पुष्टि गरेका छन् ।

जेल जानुअघि यादवले अन्तिम प्रयास स्वरूप उच्च अदालतमा राहतको अपिल गरेका थिए । उनले आफू २५ लाख रुपैयाँको चेक बोकेर आएको र बाँकी रकम पनि विस्तारै भुक्तानी गर्ने भन्दै जेल सजाय रोक्न आग्रह गरेका थिए । तर, न्यायाधीश स्वर्णकान्ता शर्माको इजलासले उनको प्रस्तावलाई स्वीकार गरेन ।

अदालतले स्पष्ट शब्दमा भन्यो, “पहिले आत्मसमर्पण गर्नुहोस्, त्यसपछि मात्र राहतका बारेमा सोचिनेछ ।” अदालतले यसअघि यादवलाई पटक-पटक मौखिक आश्वासन र सम्झौताका आधारमा समय दिएको भएतापनि उनले भुक्तानी पूरा नगरेपछि यसपटक कडा रुख अपनाएको हो ।

यो विवादको जरा सन् २०१० सम्म पुग्छ । राजपाल यादवले आफ्नो निर्देशनमा पहिलो फिल्म ‘अता पता लापता’ बनाउन खोजेका थिए । सोही फिल्मका लागि उनले दिल्लीको ‘मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेड’ नामक कम्पनीबाट ५ करोड भारु ऋण लिएका थिए ।

फिल्म बक्स अफिसमा नराम्ररी असफल भयो । फिल्मको असफलतासँगै यादवको आर्थिक अवस्था बिग्रँदै गयो र उनले लिएको ऋण तिर्न सकेनन् । ऋण फिर्ता गर्नका लागि उनले दिएका चेकहरू बैंकमा ‘बाउन्स’ भएपछि कम्पनीले उनीविरुद्ध कानुनी प्रक्रिया सुरु गरेको थियो ।

सुरुमा ५ करोड रहेको उक्त ऋण, ब्याज र जरिवाना थपिँदै जाँदा अहिले करिब ९ करोड भारु पुगेको अदालतको रेकर्डले देखाउँछ । यसअघि सन् २०१८ मा पनि दिल्लीको अदालतले उनलाई दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको थियो । त्यतिबेला पनि उनले केही समय जेलमा बिताएका थिए, तर पछि माथिल्लो अदालतबाट राहत पाएका थिए ।

उच्च अदालतले यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यसअघि जुन २०२४ मा दिइएको ‘स्टे अर्डर’ केवल मुद्दा सुल्झाउने मौकाका रूपमा मात्र भएको स्मरण गराएको छ । अदालतका अनुसार यादवले पटक-पटक निश्चित मितिमा रकम तिर्ने वाचा गरे पनि उजुरीकर्ता कम्पनीले अझै ठूलो रकम पाउन बाँकी छ ।

राजपाल यादवलाई अब जेलको मानक कार्यविधि अनुसार प्रक्रिया पूरा गरी बन्दी गृहमा राखिनेछ । कानुनी विज्ञहरूका अनुसार उनले बाँकी रहेको ९ करोडको ठूलो हिस्सा भुक्तानी नगरेसम्म वा उजुरीकर्ता कम्पनीसँग नयाँ ठोस सम्झौता नगरेसम्म उनलाई तत्काल बाहिर आउन कठिन हुने देखिन्छ ।

पर्दामा ‘छोटा डन’ जस्ता पात्र निभाएर चर्चित बनेका यादवका लागि यो वास्तविक जीवनको ‘ट्र्याजेडी’ बनेको छ ।