कुमारी समीक्षा: बैगुन खोज्ने समाजको आँखीझ्याल

पवन भट्टराई

मुम्बईको कोठीमा बेचिएकी युवतीलाई उसको विगत थाहा पाएपछि समाजले कसरी हेर्छ ? उसले घर बसाउन सक्छे ? युवतीको विगत थाहा नपाउँदासम्म माया गर्ने युवकले थाहा पाएपछि के गर्छ ? यही नै चलचित्र ‘कुमारी’को कथा हो ।

नेपाली समाज निर्दयी छ, यसमा पनि महिलाका लागि झनै निर्दयी छ । थोरै मात्रै महिलाको कमजोरी भेट्टाए त्यसको पछि लाग्ने समाजमा सानो कमजोरी मात्रै महिलाको भए त्यसले उसलाई जिन्दगीभर पिर्छ । इशा (आकृतिराज भण्डारी) १८ वर्षको उमेरमा मुम्बईको कोठीमा बेचिइन् ।

महिला अधिकारबादी संस्थाले उनलाई उद्धार गरेर ल्यायो । त्यसपछि उनलाई एक महिला अधिकारकर्मी जो एनजीओ चलाउँछिन्, उनले आफूसँगै राख्छिन् र पढाउँछिन् ।

यता, एउटै कोलोनीमा सामुन्नेको घरमा बस्ने प्रयाग (अभिषेक खड्का) उनलाई विस्तारै मन पराउन थाल्छन् । प्रयागलाई इशाले मन पराउँछिन् वा मन पराउँदिनन्, यसकै सेरोफेरोमा सिनेमाको कथा अगाडि बढ्छ ।

एनजीओले कसरी पीडितलाई झन् पीडा दिइरहेका छन् । सिनेमामा समेटिएको छ ।

सोसल ड्रामामा लभस्टोरीको फ्लेबर चलाखीपूर्ण तरिकाले दिएका लेखकको कलमको निप कथामा तिखो छ । मुम्बइका कोठीमा बेचिने नेपाली चेलीको कथामा दर्जनौँ नेपाली चलचित्र बनेका छन्, तर लेखकले फरक तरिकाले ट्रिटमेन्ट गरेका छन् । तर, पटकथामा पनि सिनेमा त्यति सफल छैन जति कथामा छ । लेखकले कथालाई अगाडि नै बढाउँदैनन् । धेरै उतारचढाव कथामा देखाउन आवश्यक ठान्दैनन् ।

अभिनय पक्षमा सिनेमालाई सफल छ । अभिषेक खड्का सबैभन्दा सफल छन् । डेब्यु फिल्ममै उनले राम्रो पफर्मेन्स देखाएका छन् । उनको अभिनयले दर्शकलाई बाँधेर राख्छ । आकृतिराज भण्डारीको पनि यो पहिलो फिचर फिल्म हो, ‘कुमारी’ । उनले पनि अभिनयमा सम्भावना देखाएकी छन् । तर, उनको डाइलग डेलिभरीमा सुधार आवश्यक छ । काका (मधु खड्का) सिनेमामा रस भर्ने कलाकार हुन् । उनले दर्शकलाई हसाइरहन्छन् ।

ब्याकग्राउन्डस्कोर सुन्दर छ । यसलाई अझै बढी नेवारी टोन दिन सकिने ठाउँ भने थियो । यदि, ब्याकग्राउन्डस्कोरमा नेवारी टोनको फ्लेरबर मिसाउन सकेको भए परिवेश थप झल्किने थियो ।

सांगीतिक पक्ष पनि बलियो छ । अनावश्यक ठाउँमा गीत छैनन् । तर, गीतमा पनि नेवारी फ्लेबर मिसाउन सकेको भए थप सशक्त बन्ने थियो सिनेमामा । तर, कलाकारको मुड अनुसार गीत र यसका टुक्रा बज्दा सिनेमालाई सहयोग नै गरेको छ ।

सिनेमाटोग्राफी पनि नराम्रो छैन । औसत सिनेमाटोग्राफीभित्र सिनेमा सिन देखिन्छन् । साँघुरा गल्लीका सिनमा क्यामेराले राम्रो काम गरेको भने देख्न सकिन्छ ।

कष्ट्युम पनि ध्यान दिएको देखिन्छ । कलर पनि राम्रै देखिन्छ । साउन्डको तुलनामा भने अरू प्राविधिक पक्ष केही फितलो देखिन्छ । आइडिया पुरानो भए पनि ट्रिटमेन्टले सिनेमा जोगिँदै अगाडि बढेको छ ।

तर, यति हुँदाहुँदै केही पक्ष छन्, जसले केही प्रश्न जन्माउँछ । प्रयागकी दिदी जो उसको बुवाकै कारण आत्महत्या हुन्छ । तर, देखाइँदैन । देखाइदिएको भए अझै चलचित्र बलियो हुन्थ्यो । छोरी गुमाइसकेपछि पनि ऊ किन त्यति धेरै दृढ छ, जबकी उसको भाइ नै ऊ जति पढेलेखेको नभए पनि तुलनात्मक रूपमा कुरा बुझ्नेजस्तो देखिन्छ । किन ऊ, त्यति धेरै सङ्कुचित सोचको छ ? यी प्रश्नको जवाफ सिनेमाले दिँदैन । छोरी गुमाएकी आमा र दिदी गुमाएको भाइमा किन त्यसको प्रतिकारकार गरेको देखिँदैन आमाले अन्तिमतिर एउटा सिन सिवाय ? यी प्रश्नको जवाफ भने खोजिनुपर्ने थियो ।

जे होस्, यति हुँदाहुँदै पनि सामाजिक कथाको जगमा जसरी लभस्टोरी भन्ने प्रयास निर्देशकले गरेका छन्, यो सराहनीय छ । बैगुन खोज्दै अनेक लाञ्छना लगाउने दोहोरो चरित्र देखाउने नेपाली पात्रहरूको आँखीझ्याल हो, ‘कुमारी’ । सोसल लभस्टोरी सिनेमा रुचाउनेका लागि हेर्न योग्य सिनेमा हो, कुमारी ।