‘श्री बुकुरो : द होम कलिङ’ आफ्नो ‘जरा’ र पहिचान खोज्ने कथा हो – निर्देशक सुदीप भुपाल
काठमाडौं । नेपाली चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ गतेदेखि प्रदर्शनमा आउँदै छ । चलचित्रले आधुनिक जीवनशैलीका कारण मानिसले गुमाउँदै गएको आफ्नोपन र परदेशी मनोविज्ञानलाई मुख्य विषय बनाएको निर्माण पक्षको भनाइ छ ।
सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका लेखक तथा निर्देशक सुदीप भुपाल सिंहले ‘श्री बुकुरो : द होम कलिङ’ आफ्नो व्यक्तिगत सोच र गहिरो अनुभूतिबाट जन्मिएको प्रोजेक्ट भएको बताए । उनले चलचित्रको शीर्षकले नै संकेत गरेझैं, यो कथा घर फर्कन चाहने हरेक मनको आवाज भएको उल्लेख गरे ।
निर्देशक सिंह भन्छन्, “यो चलचित्र परदेशमा रहेका वा आफ्नै घरमा भएर पनि एक्लोपन महसुस गर्ने मानिसहरूको कथा हो । हाम्रो बुझाइमा ‘होम कलिङ’ भनेको भौगोलिक रूपमा एक ठाउँबाट अर्को ठाउँमा पुग्नु मात्र होइन, यो त आफ्नो आत्मा, संस्कार र मूल (जरा) तर्फको भावनात्मक फर्काइ पनि हो ।”
यस्तै, उनले चलचित्रले दर्शकलाई आफ्नै जीवनतर्फ फर्केर हेर्न बाध्य बनाउने विश्वास व्यक्त गर्दै, नेपाली दर्शकले यसलाई आत्मीय रूपमा ग्रहण गर्ने अपेक्षा गरेका छन् ।
नेपाली समाजमा पछिल्लो समय बढ्दै गएको वैदेशिक पलायन र त्यसले परिवार तथा सम्बन्धहरूमा ल्याएको रिक्ततालाई चलचित्रले सूक्ष्म रूपमा केलाएको छ । निर्देशक सिंहका अनुसार मानिस भौतिक सुखको खोजीमा दौडिरहँदा भित्रैदेखि कति रित्तो हुँदै जान्छ र अन्त्यमा उसले कसरी आफ्नो अस्तित्व खोज्छ भन्ने संघर्षलाई नै ‘श्री बुकुरो’ ले पर्दामा उतारेको छ ।
“नेपाली समाजको यथार्थ कथा र आफ्नै जीवनका केही अनुभवहरूलाई मिसाएर यो चलचित्र तयार पारिएको हो,” उनले थपे, “दर्शकले चलचित्र हेरिरहँदा आफ्नै जीवनको कुनै न कुनै कालखण्डलाई महसुस गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।”
चलचित्रले नेपाली दर्शकलाई आत्मीय रूपमा जोड्ने र सिनेमा घरबाट निस्कँदा आफ्नो घर, परिवार र पहिचानप्रति थप संवेदनशील बनाउने विश्वास निर्देशक सिंहले व्यक्त गरेका छन् ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यो सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।
चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ ।
सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको सिनेमाको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो ।
किशोर भट्ट, कुलदीप शर्मा र प्रेम खतिवडा सहायक निर्देशक रहेको सिनेमाको गीतमा रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत तथा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर सुन्न पाइनेछ ।




