३ हजार यौनकर्मीको भोगाइ समेटिएको ‘लालिमा’ फागुन २९ मा आउने

काठमाडौं । नेपाली समाजको अँध्यारो पाटो र यौनकर्मी महिलाहरूको कारुणिक यथार्थलाई पर्दामा उतार्न तयार भएको चलचित्र ‘लालिमा’ आगामी फागुन २९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले मंगलबार चलचित्रको पहिलो झलक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

निर्देशक रोशन मिराजका अनुसार यो चलचित्र केवल एउटा काल्पनिक कथा मात्र नभई करिब ३ हजार यौनकर्मी महिलाहरूको जीवन अनुभव र भोगाइलाई आधार बनाएर तयार पारिएको हो ।

चलचित्रमा अभिनेत्री रोशनी कार्कीले शीर्ष भूमिका अर्थात् ‘लालिमा’को चरित्र निर्वाह गरेकी छन् ।

चलचित्रको कथा एउटा मार्मिक मोडबाट सुरु हुन्छ । लालीमाकी बोल्न नसक्ने आमा (उषा रजक) एउटा घटनाका कारण कारागार पुग्छिन् । आफ्नी आमालाई न्याय दिलाउन र झ्यालखानाबाट मुक्त गराउन संघर्ष गर्दागर्दै लालिमा सहरको कठोर र अँध्यारो गल्लीहरूमा पुग्छिन् । त्यसपछि उनले भोग्नुपर्ने शारीरिक, मानसिक र भावनात्मक पीडा नै चलचित्रको मुख्य सार रहेको निर्देशक मिराजले जानकारी दिए ।

सार्वजनिक फस्टलुक पोस्टरमा नायिका रोशनी कार्कीलाई मात्र स्थान दिइएको छ । पोस्टरमा उनी एक झ्यालको छेउमा अत्यन्तै संकटग्रस्त र असहाय अवस्थामा देखिएकी छन् । शरीरको माथिल्लो भाग सेतो कपडाले ढाकेकी रोशनीको ओठमा लतपतिएको लालीले उनको चरित्रले भोगिरहेको हिंसा र संरचनागत अन्यायलाई सांकेतिक रूपमा प्रस्तुत गरेको छ ।

चलचित्रमा रोशनी कार्की र उषा रजकका साथै शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौलाको मुख्य अभिनय रहेको छ ।

रोशन मिराजकै लेखन र निर्देशनमा तयार भएको यस चलचित्रलाई रीना लामाले कार्यकारी निर्माण गरेकी हुन् । ‘फेथ आस्था’ र ‘एम्पिफाई चेन्ज’को सहकार्यमा निर्माण भएको यो चलचित्रले पीडाको कथा मात्र नभई अन्याय विरुद्धको मानवीय साहसलाई पनि देखाउने दाबी निर्माण पक्षको छ ।