आना र सुशान्तको प्रेममा ‘ब्रेकअप’को चर्चाबीच आयो सरप्राइज
काठमाडौं । पछिल्लो समय नेपाली फिल्म र संगीत बजारमा अभिनेत्री आना शर्मा र गायक सुशान्त केसीको प्रेम सम्बन्ध र सम्भावित ‘ब्रेकअप’को चर्चाले निकै प्राथमिकता पाइरहेको छ ।
सामाजिक सञ्जालमा एक–अर्कालाई अनफलो गरेसँगै उनीहरूको सम्बन्ध अन्त्य भएको अड्कलबाजी काटिएकै बेला सुशान्तले आनाको मुख्य भूमिका रहेको चलचित्र ‘रमिताको पिरती’ को एउटा गीत सार्वजनिक गर्दै सबैलाई सरप्राइज दिएका छन् ।
सुशान्तकै स्वर र संगीत रहेको यो गीत चलचित्र प्रदर्शनको चौथो दिनमा सुशान्तले चलचित्रमा समावेश ‘तिम्रै छेऊमा’ बोलको गीतको क्लिप आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन् ।
सुशान्तले ‘रमिताको पिरती’ उत्कृष्ट बनेको प्रतिक्रिया दिनुले उनीहरूबीचको सम्बन्ध अझै हार्दिक रहेको संकेत गरेको छ । बाहिर चर्चा भएजस्तो सम्बन्धमा तिक्तता आएको हो वा यो केवल व्यवसायिक सहयोग मात्र हो भन्ने चासो दर्शकमाझ थपिएको छ । सार्वजनिक गीतमा आना शर्मा र अभिनेता धिरज मगरबीचको सुन्दर र आत्मीय दृश्यहरू समेटिएका छन् ।
गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको यो चलचित्रले दर्शकको संख्यामा क्रमिक वृद्धि गरिरहेको छ । निर्माता सागर लम्सालका अनुसार सुरुवातको तुलनामा शनिबारदेखि सिनेमाले गति समातेको छ । दर्शकबाट प्राप्त उत्कृष्ट प्रतिक्रियाका कारण हलमा दर्शकको चाप बढ्दो छ ।
अर्का निर्माता सुवास कोइरालाले पनि चलचित्रले व्यावसायिक फड्को मार्नेमा विश्वास व्यक्त गरेका छन् । उनले भने, “दिन प्रतिदिन दर्शकको सकारात्मक प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ ।”
सुदिप्ताको लेखन तथा निर्देशन रहेको ‘रमिताको पिरती’ले ‘रमिता’ नामकी एक युवतीको जीवनका जटिलता र सम्बन्धका विभिन्न आयामहरूलाई पर्दामा उतारेको छ । चलचित्रको कथावस्तु र निर्देशनको मात्र नभई कलाकारको अभिनयको पनि व्यापक चर्चा भइरहेको छ ।
विशेषगरी मुख्य अभिनेत्री आना शर्माको अभिनयलाई लिएर सामाजिक सञ्जालमा प्रशंसाको बाढी नै आएको छ । धेरै दर्शकले यसलाई आनाको करिअरकै सबैभन्दा उत्कृष्ट काम भन्दै उनलाई बधाइ दिइरहेका छन् । चलचित्रमा आनालाई अहिलेसम्मकै फरक र परिपक्व भूमिकामा देख्न सकिन्छ ।
चलचित्रमा आनाका साथमा धिरज मगर, गायक तथा अभिनेता समिर श्रेष्ठ, विनय श्रेष्ठ, रेनु योगी लगायतका कलाकारहरूको अभिनय छ । शिशिर विसङखेले छायांकन गरेको यस चलचित्रलाई सुनिल शिवभक्तिले सम्पादन गरेका हुन् ।
नारी संवेदना र सम्बन्धको कथामा आधारित यो सिनेमाले हालका दिनमा युवा पुस्ताका दर्शकहरूलाई हलसम्म आकर्षित गर्न सफल देखिएको छ ।




