चकलेटी कलाकारका चलचित्र बक्सअफिसमा सफल हुँदै, सौगात/दयाहाङका असफल !

काठमाडौं । पछिल्लो समय नेपाली चालचित्र उद्योगमा रङ्गमञ्चबाट सिनेमामा पुगेका भन्दा चकलेटी अभिनेताका चलचित्रहरूको व्यापार राम्रो देखिएको छ ।

अभिनयमा खारिएका अभिनेताका भन्दा पनि चकलेटी नायकका चलचित्रले राम्रो व्यापार गरिरहेका छन् । सौगात मल्ल, दयाहाङ राईलगायत अभिनेताका भन्दा अनमोल केसी र पल शाहका चलचित्रले राम्रो कलेक्सन गरेका छन् ।

दयाहाङ र सौगातका पछिल्ला चलचित्रले दर्शकको मन जित्न नसकिरहेका बेला अनमोल र पलका चलचित्रले भने दर्शक हलमा तानिरहेका छन् ।

अनमोलको चलचित्र ‘जेरी अन टप’ले बक्सअफिसमा १२ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको थियो । पलको ‘आ बाट आमा’ले नौ दिनमा चार करोड ८० लाख ९० हजार ४८७ रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

साउनको तेस्रो साताबाट रिलिजमा आएको ‘मोहर’ले पनि पाँच करोडभन्दा ग्रसकलेक्सन गरेको थियो । ‘मोहर’को मुख्य भूमिकामा पल शाह थिए ।

यी तथ्यांकले राम्रो अभिनय गर्ने भनिएका कलाकारले भन्दा चकलेटी नायकका सिनेमा दर्शकले बक्सअफिसमा रुचाएको देखाउँछ ।

केही समय अगाडि मात्रै रिलिज भएका दयाहाङ र सौगातका चलचित्र बक्सअफिसमा असफल भएका थिए । दयाहाङ मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ र सौगात मल्ल मुख्य भूमिकामा रहेको चलचित्र ‘भाइरल गोर्खे’ बक्सअफिसमा असफल भएका थिए । यी दुवै स्टारका दुवै चलचित्रले ५० लाख पनि ग्रसकलेक्सन गर्न सकेका थिएनन् ।

तर, अधिकांश सिनेमा नचलिरहेको समयमा पलका चलचित्रले भने लगातार पाँचर करोडभन्दा माथिको ग्रसकलेक्सन गरेका हुन् । तर, ‘मोहर’भन्दा अगाडि रिलिज भएका पलका दुई चलचित्र ‘रावायण’ र ‘मायावी’ भने बक्सअफिसमा पूर्णतया असफल भएका थिए ।

यही वर्ष प्रदर्शनमा आएको समीर भट्टको चलचित्रले पनि पाँच करोडको सेरोफेरोमा ग्रसकलेक्सन गरेको थियो । तर, यो हाइप र ब्रान्डअनुसार भने ग्रसकलेक्सन धेरै होइन । लगानीभन्दा पनि हलबाट ग्रसकलेक्सन बक्सअफिसमा कम हो ।

दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘जारी २’ले पाँच करोडको आंकडा सहजै पार गरे पनि यसको ब्रान्ड अनुसार बक्सअफिसमा सफल देखिएन । दयाहाङका ‘रिमै’, ‘वरिष्ठ बलराम’ पनि सोचेजस्तो चलेनन् ।

सौगात मल्लकै अर्को चलचित्र ‘सिटामोल’ पनि बक्सअफिसमा असफल भएको थियो । यो चलचित्रले पनि लगानी उठाउन सकेन । सौगातका ‘बम बहादुर’, ‘जार’, ‘सिटामोल’, र ‘जन्ते बाख्रो’ पनि बक्सअफिसमा असफल भएका थिए ।

अभिनयमा तारिफ बटुल्ने तर बक्सअफिसमा भने सौगात र दयाहाङ लगातार असफल देखिन थालेका छन् ।

यता, प्रदप्व खड्काका चलचित्र भने लगातार असफल देखिएका छन् । ‘एक्लो’ होस् अथवा ‘एक्टर : टेकवान’ बक्सअफिसमा सफल हुन सकेनन् । ‘पिताम्बर’ औसत हुँदा गत वर्षको ‘पुजार सार्की’ले भने पाँच करोडको आंकडा पार गरेको थियो । तर, यी दुई चलचित्रमा भने प्रदीपसँगै समानान्तर भूमिकामा अन्य कलाकार पनि थिए ।

कतिपय अवस्थामा उनीहरू मुख्य भूमिकामा रहेका चलचित्रले बक्सअफिसमा कलाकारले लिएको पारिश्रमिक मात्रै पनि उठान नसकेको टिप्पणी हुन थालेको छ ।