टिजर समीक्षा : टिजरले तान्यो, ट्रेलर बन्नेछ निर्णायक

काठमाडौं । चलचित्रको पोस्टरले कलाकारको चरित्र लुक्ससँगै सिनेमाको कथासार बताउन सक्नुपर्छ । पोस्टरको उद्देश्य नै यही हो, यसकै लागि पोस्टर बनाउने हो । मुख्य पात्रको लुक्स र सिनेमाको सार समेट्न सक्दैन भने त्यो पोस्टर आफैँमा फेलियर हो, त्यसको डिजाइनर फेल भएको हो ।

‘जात्रा’ र ‘महापुरुष’ फेम्ड ब्यानर षट्कोण आर्टसको नयाँ चलचित्र ‘लालीबजार’को पोस्टर पास भयो कि फेल ? सम्भवत पास । किनकि नामलाई पोस्टरले बोकेको थियो । सिनेमाको कथा प्रष्ट संकेत गरेको थियो ।

पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्काको ‘रस्टिक’ र ‘डि–ग्लाम’ लुक्सले सामाजिक सञ्जालमा जति चर्चा पायो, त्यसले कथा बताउने सामार्थ्य पनि राखेको थियो ।

अहिले सार्वजनिक भएको टिजरले पोस्टरको संकेतलाई उजागर गर्दै थप कथा र पात्रहरूको भूमिका के हो खोल्ने काम गरेको छ ।

पोस्टरमा स्वस्तिमालाई तराईको ग्रामीण महिलाको भेषमा देखाइएको थियो । आँखामा गाजल र अनुहारमा एउटा गम्भीर भाव देखिन्थ्यो । नेपाली चलचित्रमा प्रायः ‘ग्ल्यामरस’ अवतारमा देखिने स्वस्तिमालाई संघर्षरत आमा र ग्रामीण पात्रको रूपमा देखाइएको थियो
पोस्टरमा देखिएको ‘नथी’ (नाकको गहना)को विम्बले चलचित्र कुनै गम्भीर सामाजिक मुद्दामा आधारित छ भन्ने प्रष्ट पारेको थियो, जसको पुष्टि अहिले टिजरले गरेको छ । बादी महिलाको चरित्रमा उनी रहेको टिजरले प्रष्ट पारेको छ ।

पोस्टरको कौतुहलतामा टिजरले थप्यो उत्सुकता
पोस्टरले खडा गरेको कौतुहलतामा टिजरले थप उत्सुकता थपेको छ । कथा हो भन्ने उत्सुकता होइन, कथाको ट्रिटमेन्ट कसरी गरिएको होला भन्ने उत्सुकता ।

बादी महिला, जसको जीवन पराई पुरुषलाई रिजाउँदैमा बित्यो, अब उसले आफ्नी छोरीलाई त्यो ‘नर्कतुल्य’ जीवनबाट कसरी बचाउँछे वा बचाउने प्रयास गर्छे भन्ने उत्सुकता टिजरले जगाएको छ ।

पोस्टरमा शान्त स्वस्तिमा टिजरमा बन्दुक चलाउँन सिक्दैछिन्, भलै त्यहाँ रंगरसमा रमाएजस्तो देखिन्छ । तर, होइन, ऊ निसाना कसरी लगाउने भनेर सिक्दैछिन्, जुन राजा साहेबले भेउ पाएकै छैन ।
पोस्टरमा लुकाइएको रवीन्द्र सिंह बानियाँको ‘नेगेटिभ’ लुक्स टिजरको मुख्य आकर्षण बनेको छ । उनको क्रूर स्वभाव र ‘राजा साहेब’को रवाफले चलचित्रको द्वन्द्व देखाएको छ ।

टिजरको सुरुवातमा अभिनेत्री स्वस्तिमा खड्कालाई बन्दुक चलाउन सिकिरहेको ‘बोल्ड’ अवतारमा देखाइएको छ । टिजर अघि बढ्दै जाँदा उनको चरित्रमा परिवर्तन देखिन्छ । एकातिर उनी प्रेमीसँग खुसी देखिन्छिन् भने अर्कोतिर आफ्नो सन्तानको रक्षाका लागि समाज र शक्तिशाली पात्रहरूसँग लडिरहेको ‘विद्रोही आमा’को रूपमा देखिन्छिन् । उनको लुक्स र हाउभाउले चलचित्रमा उनको सशक्त अभिनय अपिल गर्छ ।

टिजरमा एउटी सानी बालिकाको नाक छेड्ने (नथी लगाइदिने) दृश्य र त्यससँग जोडिएका संवादहरूले तराईको कुनै समयको ‘नथी’ प्रथा वा महिला शोषणको कथालाई चित्रण गरेको देखिन्छ ।

“छोरीको नथीको मोल कति राखेकी छौ ?” भनेर सोध्दा स्वस्तिमाले “आफ्नी छोरी पनि कसैले बेच्छ ?” भन्ने जवाफले चलचित्रको मुख्य द्वन्द्वलाई संकेत गर्छ ।

अभिनेता रविन्द्र सिंह बानियाँ यो चलचित्रमा निकै फरक भूमिकामा देखिएका छन् । ‘राजा साहेब’को भूमिकामा उनले बोल्ने संवाद र उनको रवाफले चलचित्रमा शक्तिको दुरुपयोग र गरिबमाथि हुने थिचोमिचोलाई देखाएको छ । उनले बालिकाको उमेर पुगेपछि खबर गर्नू भनी दिएको आदेशले आक्रोश र कौतुहलता दुवै पैदा गर्छ ।

टिजरको अन्त्यतिर स्वस्तिमाको आँखामा देखिएको आँसु र प्रतिशोधको भावले आमाले आफ्नो सन्तानका लागि गर्ने संघर्ष र विद्रोहको गाथा पनि हो ।

षट्कोण आर्टर्सले सधैँ ‘कन्टेन्ट’मा जोड दिँदै आएकाले पनि पोस्टर सार्वजनिक हुँदै यो ‘प्रतिक्षित’ चलचित्रको सूचीमा छ । टिजर हेरेर ‘बुलबुल’पछि स्वस्तिमाको सशक्त पुनरागमनको अपेक्षा गर्न सकिन्छ ।

टिजरले तराईको टोन समातेको छ । छायांकन र पार्श्व संगीतले टिजरलाई थप प्रभावकारी बनाएको छ ।

चलचित्रको छायांकन तराईका ग्रामीण बस्ती, नदीको किनार र त्यहाँको मौलिक संस्कृतिमा आधारित छ । टिजरमा प्रयोग गरिएका कलरले कथाको गम्भीरतालाई संकेत गरेको छ । छायांकन र लाइटको तादात्मयताले टिजरलाई उकास्ने काम गरेको छ ।

निर्देशक यम थापाले संवेदनशील विषयलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको टिजरमा देखिन्छ ।

‘लालीबजार’को टिजरले नेपाली समाजको एउटा तीतो यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेको देखिन्छ । पोस्टरदेखि नै चर्चामा रहेको यो चलचित्र वैशाख १८ मा प्रदर्शन हुँदै छ । पोस्टर र टिजरको शाख ट्रेलरसहितका आउने कन्टेन्टले जोगाउँदै अगाडि बढे ‘लालीबजार’ थप प्रतिक्षित हुने देखिन्छ ।