‘लालिमा’को टिजरमा यौनकर्मीको पीडा र न्यायको संघर्ष
काठमाडौं । नेपाली समाजको एउटा अध्याँरो र उपेक्षित पाटोलाई चित्रण गरिएको चलचित्र ‘लालिमा’को टिजर सार्वजनिक भएको छ ।
सार्वजनिक टिजर निकै गम्भीर र शक्तिशाली छ । टिजरमा मुख्य पात्र ‘लालिमा’ को मानसिक र शारीरिक छटपटीलाई देखाइएको छ । ऐना फुट्नु, ओछ्यानमा छटपटाउनु र हातमा चक्कु लिएर डराएको मुद्रामा देखिनुले चलचित्रमा एउटा ठूलो संघर्ष र विद्रोहको कथा लुकेको संकेत गर्छ ।
चलचित्रको कथा मुख्य पात्र लालिमाको वरिपरि घुम्छ, जो आफ्नी बोल्न नसक्ने (म्युट) आमालाई जेलबाट मुक्त गराउन संघर्षरत छिन् । सोही क्रममा उनी सहरको एउटा यस्तो क्रुर दलदलमा फस्न पुग्छिन्, जहाँ उनले असह्य शारीरिक, मानसिक र भावनात्मक पीडा भोग्नुपर्ने हुन्छ ।
रोशन मिराजको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा रोशनी कार्की ले शीर्ष भूमिका (लालिमा) निर्वाह गरेकी छिन् । टिजरमा उनको अभिनयले दर्शकको ध्यान खिच्न सफल देखिन्छ । उनीसँगै चलचित्रमा उषा रजक, शिशिर वाङ्देल, सुष्मा निरौला, जीवन भट्टराई, घनश्याम जोशी, सबिन कटेल लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।
फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा निर्माण भएको यो चलचित्रको कार्यकारी निर्माता रीना लामा हुन् ।
निर्देशक रोशन मिराजका अनुसार ‘लालिमा’ केवल एउटा फिल्म मात्र नभएर हजारौँ यौनकर्मीहरूको दबिएको आवाज हो । फिल्मले यौनकर्मीप्रतिको सामाजिक दृष्टिकोण र कानुनी जटिलताहरूमाथि पनि प्रश्न उठाएको छ ।’
निर्माण पक्षले यस चलचित्रलाई सन्देशमूलक र यथार्थवादी सिनेमाका रूपमा परिभाषित गरेको छ । झण्डै ३ हजार यौनकर्मी महिलाहरूको वास्तविक भोगाइ र उनीहरूले भोग्दै आएको प्रणालीगत अन्यायलाई मुख्य विषयवस्तु बनाइएको यो चलचित्र आगामी २०८२ फागुन १३ गतेबाट देशभरका हलहरूमा प्रदर्शनमा आउने छ ।




