बलिउडका ‘हसाउने राजा’को रुवाउने हविगत: साथीका लागि आफ्नो घर भोजनालय, अहिले कोही छैन
एजेन्सी । बलिउडमा अभिनेता राजपाल यादव एउटा यस्तो नाम हो, जसले पर्दामा आउनेबित्तिकै दर्शकको सारा तनाव भुलाइदिन्छन् ।
फिल्मको पर्दामा राजपाल यादव देखिनेबित्तिकै दर्शकको अनुहारमा मुस्कान आउँछ । ‘छोटा पण्डित’ देखि ‘बण्ड्या’ सम्मका चरित्रमार्फत करोडौलाई हसाउने यी कलाकार यतिबेला जीवन एउटा यस्तो कठिन मोडमा बदलिएको छ, जसको कल्पना कसैले गरेका थिएनन् ।
आफ्नो बेजोड अभिनय र ठट्टाले फिल्ममार्फत वर्षौसम्म दर्शकलाई हसाएर सयौँ मानिसहरूको तनाव कम गराउने यी अभिनेता यादव अहिले आफैँ भने बलिउडको चकाचौधबाट टाढा दिल्लीको तिहाड जेलको छिँडीमा आँसु पुछ्दैछन् ।
आफ्ना आफैँ ठुलो मानसिक र कानुनी तनावकाबीच दिल्लीको तिहाड जेलमा ६ महिनाको सजाय काटिरहेका छन् ।
जीवनको सबैभन्दा कठिन मोडमा आइपुगेका अभिनेता यादवलाई ६ महिनाको जेल सजाय, करिब ११ करोडको ऋण र ‘कोही आफ्नो नभएको’ एउटा नमीठो रित्तोपनले घेरेको छ ।
राजपालको यो अवस्था केवल एउटा कानुनी झमेला मात्र होइन, बरु एउटा सफल कलाकारको गलत व्यवसायिक निर्णय र बलिउडको स्वार्थीपनको जीवन्त ऐना पनि हो ।
चेक बाउन्स र ऋण तिर्न नसकेको मुद्दामा अदालतको आदेशपछि उनले जेल सजाय भोग्नुपरेको हो । जेल जानुअघि उनले व्यक्त गरेको भावनाले धेरैलाई भावुक बनाएको छ ।
राजपाल यादवको यो समस्याको सुरुवात सन् २०१० मा भएको थियो। उनले आफूले निर्देशन र निर्माण गरेको पहिलो फिल्म “अता पता लापता”का लागि दिल्लीका एक व्यापारीबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । दुर्भाग्यवश, यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । फिल्म फ्लप भएपछि राजपालले लिएको ऋण तिर्न सकेनन् ।
समयसँगै उक्त ऋणको ब्याज र जरिवाना थपिँदै गयो। हाल यो रकम करिब ९ देखि ११ करोड रुपैयाँको हाराहारीमा पुगेको बताइन्छ । ऋणदाताले चेक बाउन्सको मुद्दा दर्ता गरेपछि यो मामिला अदालतसम्म पुगेको थियो ।
अदालतले राजपाललाई ऋण तिर्नका लागि पटक-पटक समय दिएको थियो । तर, उनले दिएका आश्वासनहरू पुरा हुन सकेनन् । उनले अदालतलाई अधुरो जानकारी दिएको र बाचा तोडेको भन्दै न्यायाधीश रुष्ट बनेका थिए । अदालतले स्पष्ट रूपमा भन्यो, “सेलिब्रेटी वा कलाकार भएकै नाताले कसैलाई पनि कानुनभन्दा माथि राखेर विशेष सुविधा दिन सकिँदैन ।” अन्ततः ५ फेब्रुअरी २०२६ मा उनले तिहाड जेलमा आत्मसमर्पण गरे ।
जेल जानुअघि एक अन्तर्वार्तामा राजपाल निकै भावुक देखिएका थिए । उनले आँसु झार्दै भनेका थिए, “मसँग अहिले न पैसा छ, न त कोही साथी नै । म यो संकटसँग एक्लै लडिरहेको छु ।”
यो भनाइले बलिउडको चम्किलो दुनियाँको अँध्यारो पक्षलाई पनि उजागर गरेको छ । कुनै समय बलिउडका स्थापित अभिनेता नवाजुद्दीन सिद्दीकीले राजपालको बारेमा भनेका थिए, “राजपालको घर संघर्षरत कलाकारहरूका लागि एउटा ‘लंगर’ (नि:शुल्क भोजनालय) जस्तै थियो । त्यहाँ २४ सै घण्टा खाना पाक्थ्यो र कसैलाई भोकै फर्काइँदैनथ्यो ।” आज तिनै सहयोगी राजपाल समस्यामा पर्दा उनका पुराना ‘स्टार’ साथीहरू मौन देखिएका छन् ।
यद्यपि, केही व्यक्तिहरूले भने राजपाललाई सहयोगको हात बढाएका छन् । अभिनेता सोनु सुदले उनलाई आफ्नो आगामी फिल्ममा काम दिने घोषणा गरेका छन् भने बिहारका नेता तेजप्रताप यादव र म्युजिक प्रोड्युसर राभ इन्द्रजितले पनि आर्थिक र नैतिक सहयोगको प्रतिबद्धता जनाएका छन् । बैंकले उनको उत्तर प्रदेशको शाहजहाँपुरस्थित करोडौँको सम्पत्ति सिल गरिसकेको भए पनि उनले जेलबाट छुटेपछि पुनः फिल्ममा सक्रिय भएर ऋण तिर्ने आशा राखिएको छ ।
राजपाल यादवको यो कहानीले एउटा सफल कलाकार कसरी एउटा गलत व्यवसायिक निर्णय र कानुनी असावधानीका कारण सडकमा पुग्न सक्छ भन्ने देखाउँछ । फिल्ममा सफलता पाउनुभन्दा त्यसलाई टिकाउन र कानुनी प्रक्रियाहरू (विशेष गरी चेक बाउन्स र ऋण) मा सचेत रहनु कति महत्त्वपूर्ण छ भन्ने यो एउटा ठुलो पाठ हो ।
राजपालले ‘भुल भुलैया’, ‘हंगामा’, ‘चुप चुप के’ जस्ता कैयौ फिल्ममा दिएको योगदानलाई दर्शकले अझै बिर्सेका छैनन् । उनका प्रशंसकहरूले कामना गरिरहेका छन् कि जेलबाट बाहिर आउँदा राजपाल यादव पुरानै जोशका साथ पर्दामा फर्किउन् र फेरि सबैलाई हसाउन सकून् । किनभने, बलिउडमा कलाकारहरू धेरै छन्, तर राजपाल यादव जस्तो ‘कमेडीको राजा’ एउटै मात्र छ ।




