६३ दिन लगाएर सकियो ‘झिँगेदाउ-२’को छायांकन, अर्को वर्षको दशैंमा प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘झिँगेदाउ २’ को छायांकन सम्पन्न भएको छ ।

निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको यो चलचित्रको बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै सम्पूर्ण छायांकन ६३ दिनमा सम्पन्न भएको हो ।

गत मंसिरमा काभ्रेको पनौतिबाट छायांकन सुरु गरिएको यो चलचित्रको सुटिङ ६० दिनको कार्यतालिका (सेड्युल) मा सुरु भए पनि काम सम्पन्न गर्न ६३ दिन लागेको निर्माण टिमले जानकारी दिएको छ ।

अघिल्लो भाग ‘झिँगेदाउ’ ले व्यावसायिक रुपमा ठूलो सफलता हात पारेका कारण यसको निर्माण टिम दोस्रो भागलाई लिएर दर्शकमाझ प्रस्तुत गर्न निकै उत्साह छ ।

निर्देशक देउजाले पहिलो भागको साख जोगाउन र दोस्रो भागलाई अझ उत्कृष्ट बनाउन निर्माणमा कुनै पनि किसिमको सम्झौता नगरिएको बताए ।

“हामीले निर्धारित समयभन्दा तीन दिन बढी समय लगाएर सुटिङ गर्यौं, किनकि हामी दृश्यको गुणस्तर र कथाको मर्ममा कुनै सम्झौता गर्न चाहँदैनथ्यौं,” निर्देशक देउजाले भने, “दर्शकले एउटा स्तरीय र मनछुने सिनेमा हेर्न पाउनेमा म पूर्ण विश्वस्त छु ।”

‘झिँगेदाउ २’ लाई नेपालका विभिन्न रमणीय र ऐतिहासिक स्थानहरूमा खिचिएको छ । पनौतिबाट सुरु भएको छायांकन यात्रा काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ हुँदै अन्त्यमा चितवन पुगेर टुंगिएको हो ।

नेपाली सिनेमा क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित कलाकारहरूको अभिनय रहेको चलचित्रमा सरोज खनाल, आर्यन सिग्देल, केकी अधिकारी, आँचल शर्मा र महेश त्रिपाठी मुख्य भूमिकामा देखिनेछन् ।

साथै, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

निर्देशक ज्ञानेन्द्र देउजाकै कथा रहेको यस चलचित्रको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले तयार पारेका हुन् ।

चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’ को छायांकन, मित्र डी गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र अर्जुन पोखरेलको संगीत रहेको छ ।

कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहेका छन् ।

छायांकन सकिएसँगै अबको केही दिनमा पोष्ट-प्रोडक्सन (सम्पादन, डबिङ र भिएफएक्स) को काम सुरु हुने र आगामी वर्षको दशैंको अवसर पारेर देशभरका सिनेमा हलमा प्रदर्शन गरिने निर्माण पक्षले जानकारी गराएको छ ।