चलचित्र र पर्यटन क्षेत्रबीच दीर्घकालीन रणनीतिक समन्वयको ढोका खोल्ने विश्वास

काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रियस्तरमा आकर्षक फिल्मी गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले चलचित्र र सिनेमा पर्यटन प्रवर्द्धनका लागि समझदारी गरेका छन् । दुई बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

बुधबार काठमाडौंमा सम्पन्न कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सहकार्यले चलचित्र र पर्यटन क्षेत्रबीच दीर्घकालीन रणनीतिक समन्वयको ढोका खोलेको छ। विश्वभर लोकप्रिय बन्दै गएको ‘फिल्म पर्यटन’लाई नेपालमा संस्थागत रूपमा विकास गर्ने लक्ष्यका साथ दुई निकायले संयुक्तरूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस सम्झौतासँगै नेपाललाई अन्तर्राष्ट्रिय फिल्मी गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने, चलचित्रमार्फत देखिएका लोकेशनलाई पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, स्थानीय अर्थतन्त्र सुदृढ गर्दै रोजगारी सिर्जना गर्ने, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालको सक्रिय सहभागिता सुनिश्चित गर्न दुवैपक्ष तप्पर रहेका छन् ।

सम्झौताअनुसार सन् २०२६ मा हुने कान्स चलचित्र महोत्सवमा सहभागिता, पोखरामा फिल्म फेस्टिभल आयोजना, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्द्धनात्मक सामग्री उत्पादन गर्ने योजना तय गरिएको छ ।

फिल्म पर्यटनमार्फत कम परिचित प्राकृतिक र सांस्कृतिक सम्पदायुक्त स्थानहरूलाई पनि अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने विश्वास गरिएको छ । चलचित्रमा देखिएका लोकेसन अवलोकन गर्न आउने पर्यटकमार्फत स्थानीय होटल, यातायात, गाइड तथा साना व्यवसायहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।