तीनवटा नेपाली चलचित्र एकै दिन हलमा
काठमाडौं । आज एकै दिन तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । यी चलचित्र महाशिवरात्रिको बिदाको छेको पारेर प्रदर्शनमा आएका हुन् ।
सन्तोषकुमार आत्रेयले निर्देशन गरेको ‘शिवांश : च्याप्टर १’मा शिवको भेषमा बसेर गरिने आपराधिक क्रियाकलाप समेटिएको छ ।
चलचित्र ‘शिवांश : च्याप्टर १’मा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुषा न्यौपाने, विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय छ ।
चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।
अञ्जान केसी निर्माता चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् । चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।
सरद महतोको डीओपी रहेको चलचित्रमा बनिश शाहको सम्पादन छ । यसले फरक स्वाद बोकेर आएको निर्माणपक्षले दाबी गरेको छ ।
सुदीप भुपाल सिंहको निर्देशन रहेको ‘श्री बुकुरो : द होम कलिङ’मा मुख्य कलाकार आर्शीवाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, लय संग्रौला, मोहन निरौलालगायतको अभिनय छ ।
निर्देशक सिंह स्वयंको लेखन रहेको चलचित्रलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।
पटकथा र संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठको छ । यो चलचित्र पारिवारिक कथामा आधारित छ ।
चन्दन दत्त र परिच्छेद सेनको सम्पादन तथा सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन छ ।
रमेश कोइरालाको निर्देशन रहेको ‘बिगुल’मा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर वाङदेल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रवीन्द्र खड्कालगायतको अभिनय छ ।
सामाजिक राजनीतिक कथा समेटेको चलचित्रमा शिव ढकालको छायांकन र तारा थापा किम्भेको सम्पादन छ । एकै दिन प्रदर्शनमा आएका यी चलचित्रमध्ये कुनले दर्शक तान्ने हो भन्ने कौतुहलता छ ।




