‘आ बाट आमा’ ९ करोडको क्लब नजिक, दोस्रो सातामा झन् बढ्यो दर्शकको क्रेज
काठमाडौं । गत माघ १६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा’ ले बक्स अफिसमा लोभलाग्दो व्यापार गर्दै सफलताको नयाँ उचाइ तय गरेको छ ।
प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गर्दा चलचित्रले झन्डै ९ करोडको आँकडा छुन लागेको छ ।
निर्माण पक्षको दाबी अनुसार दुई सातामा नेपालमा चलचित्र ‘आ बाट आमा’ को व्यापार ८ करोड नाघेको छ । शुक्रबार निर्माताले एक पोस्टर सार्वजनिक गर्दै फिल्मले घरेलु बक्स अफिसमा ८ करोड ७२ लाख रूपैयाँ ग्रस कमाइ गरेको दाबी गरेका हुन् ।
यो चलचित्रको विश्वव्यापी कमाइ ८ करोड ७२ लाख रूपैयाँ पुगेको जनाइएको छ ।
चलचित्र ‘आ बाट आमा’ सफल हुनुको मुख्य कारण यसको मर्मस्पर्शी कथावस्तुलाई मानिएको छ । नेपाली समाजको तितो यथार्थ वैदेशिक रोजगारीको बाध्यता र त्यसले परिवारमा पार्ने प्रभावलाई चलचित्रले मिहिन ढंगले प्रस्तुत गरेको छ ।
आमा, बुबा र छोराबीचको भावनात्मक सम्बन्धले हल पुग्ने धेरै दर्शकको आँखा रसाएको छ । चलचित्रका निर्देशक चन्द्र पन्तका अनुसार धेरै दर्शकले यसलाई ‘आफ्नै घरको कथा’ भन्दै प्रशंसा गरिरहेका छन् ।
सकारात्मक ‘वर्ड अफ माउथ’ (दर्शकको प्रतिक्रिया) का कारण पहिलो हप्ताको तुलनामा दोस्रो हप्ता हलहरूमा दर्शकको चाप ह्वात्तै बढेको छ ।
निर्देशक पन्तले दर्शकको मायाले आफू निकै उत्साहित भएको बताएका छन् । उनले भने, “देशभरका अधिकांश हलमा दर्शकको साथ उत्साहजनक छ । ८ करोड ७२ लाख भन्दा बढीको व्यापार भइसकेको छ र भोलि शनिबार यो आँकडा अझै बढ्ने निश्चित छ ।”
‘आ बाट आमा’मा पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्टलगायतको अभिनय छ ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा निर्देशक चन्द्र पन्त स्वयंको कथा र पटकथा रहेको छ । संवाद लेखनमा अभिमन्यू निरवी, अमर न्यौपाने र चन्द्र पन्तले सहकार्य गरेका छन् । चलचित्रलाई नवराज उप्रेतीले खिचेका हुन् ।




