एक दशकपछि निर्देशनमा फर्किए निर शाह
काठमाडौं । नेपाली चलचित्र जगतका ‘भीष्म पितामह’ मानिने वरिष्ठ कलाकार तथा निर्देशक निर शाह झण्डै १० वर्षपछि पुनः निर्देशनको भूमिकामा फर्किएका छन् ।
शाहले आफ्नो नयाँ निर्देशकीय प्रोजेक्ट ‘कमला मिस’ को शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुलबाट विधिवत् रूपमा शुभसाइत पूजा गर्दै छायांकन सुरु गरेका हुन् ।
चलचित्र ‘कमला मिस’ ले मानव मनोविज्ञानका अत्यन्तै सूक्ष्म र गहन आयामहरूलाई पर्दामा उतार्ने लक्ष्य राखेको छ । वरिष्ठ साहित्यकार विजय मल्लको कथामा आधारित यो चलचित्रले मानवीय व्यवहार र सोच्ने शैलीका विविध पक्षलाई खोतल्ने निर्देशक शाहले बताएका छन् ।
चलचित्रको पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।
एक दशकअघि ‘सेतोबाघ’ निर्देशन गरेका शाहले यसपटक वैचारिक र दार्शनिक संवादमार्फत दर्शकलाई नयाँपन दिने अपेक्षा गरिएको छ ।
‘कमला मिस’मा निर शाह स्वयं मुख्य भूमिकामा देखिनेछन् । उनीसँगै चलचित्रमा बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ र जयन्त रेग्मीको अभिनय रहनेछ ।
विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रका कार्यकारी निर्माताहरू उमेश मल्ल र चैतन्य प्रधान हुन् । त्यस्तै, चलचित्रको लाइन प्रोड्युसरको जिम्मेवारी पुष्कर लामा (प्रेम भोम्जन) ले सम्हालेका छन् ।
वि.सं. २०२४ सालमा ‘परिवर्तन’ चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेका निर शाहले नेपाली सिने जगतलाई कैयौं कालजयी चलचित्रहरू दिएका छन् । उनले निर्देशन गरेका ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चलचित्रहरू नेपाली सिनेमाको इतिहासमा कोसेढुङ्गा मानिन्छन् ।
३ सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका शाहको पछिल्लो समय अभिनित चलचित्र ‘परान’ ले बक्स अफिसमा झण्डै १८ करोड रुपैयाँको व्यापार गर्दै ठूलो व्यावसायिक सफलता हासिल गरेको थियो ।




