चलचित्र ‘पहाड’ वैशाख १ गतेबाट प्रदर्शन, तुलसी घिमिरेकी कान्छी छोरी मुख्य भूमिकामा

काठमाडौं । तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘पहाड’ आगामी नयाँ वर्षको अवसर पारेर ०८३ वैशाख १ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्या चित्रण गरिएको चलचित्रको प्रदर्शन मिति वितरक तथा प्रदर्शकसँगको छलफलमा तय गरिएको निर्देशक घिमिरेले जानकारी दिए ।

“मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ,” उनले भनेका छन्, “चलचित्र हेरिरहँदा दर्शकले आफ्नोपन र आफ्नो कथा पाउनु हुनेछ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।”

चलचित्रमा नयाँ र पुरानो पुस्तासँगको सहकार्य छन् ।
उनले समाजको तीतो यथार्थलाई चलचित्रमार्फत दर्शकसमक्ष पुर्‍याउने बताए । ओजस्वी केसीले निर्माण गरेको उक्त चलचित्रलाई प्रसिद्ध छायाकार प्रमोद प्रधानले छायांकन गरेका छन् ।

चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायत कलाकारले अभिनय गरेका छन् । निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरे यही चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकसामु आउँदैछिन् ।

चलचित्रको प्राविधिक समूहमा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले ‘प्रोडक्सन डिजाइनर’को जिम्मेवारी सम्हालेकी छन् । चलचित्रमा रञ्जित गजमेरले संगीत दिएका छन् ।