धनुषसँगको विवाहको हल्लामा मृणालको जवाफ- ‘करोडौँ खर्च गर्दा नपाउने पब्लिसिटी सित्तैमा पाएँ’
मुम्बई (एजेन्सी)। दक्षिण भारतीय सुपरस्टार धनुष र अभिनेत्री मृणाल ठाकुरको प्रेम सम्बन्ध र भ्यालेनटाइन डे (प्रणय दिवस)का दिन गोप्य रूपमा उनीहरूले विवाह गर्ने तयारी गरिरहेको दाबीसहितका समाचारहरू भारतीय सञ्चारमाध्यममा आएका थिए ।
उनीहरूको विवाहको सम्भावित मिति र स्थानका बारेमा समाचारहरू आएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समेत विभिन्न अड्कलबाजी गरिरहेका थिए । धनुष र मृणालका फ्यानहरूले भने मा यो जोडीलाई ‘पर्फेक्ट’ भन्दै शुभकामना दिँदै आएका थिए ।
तर, अभिनेत्री मृणालले अभिनेता धनुषसँग आफ्नो विवाह हुन लागेको हल्लालाई व्यङ्ग्यात्मक शैलीमा खण्डन गरेकी छिन् । पछिल्लो केही समयदेखि सामाजिक सञ्जाल र भारतीय सञ्चारमाध्यममा फैलिएको यो अफवाहप्रति मृणालले पहिलोपटक मुख खोलेकी हुन् ।
आफ्नो आगामी फिल्म ‘दो दीवाने सहर में’ को प्रचारका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मृणालले यो हल्लालाई ‘सित्तैमा पाएको उत्कृष्ट पब्लिसिटी’ को रूपमा टिप्पणी गरेकी छिन् ।
फिल्म प्रमोसनका लागि आयोजित एक अन्तर्वार्तामा जब पत्रकारले विवाहको बारेमा प्रश्न सोधे, मृणालले हाँस्दै भनिन्, “मैले करोडौँ रुपैयाँ खर्च गरेर मेरो फिल्म वा आफ्नो नामको प्रचारप्रसार गरेको भए पनि सायद यति धेरै चर्चा पाउँदैनथेँ होला, जति यो एउटा हल्लाले दिलायो । त्यसैले यस्ता अफवाह फैलाउनेहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु ।”
आफ्नो व्यक्तिगत जीवनका बारेमा थप स्पष्ट पार्दै उनले अहिले आफू प्रेम सम्बन्धमा नरहेको बताइन् । उनले भनिन्, “अहिले मेरो कुनै पार्टनर छैन, मेरो पार्टनर केवल क्यामेरा मात्र हो ।” आफू अहिले पूर्ण रूपमा आफ्नो अभिनय करियर र काममा व्यस्त रहेको र भविष्यमा यदि कोही जीवनमा आएको खण्डमा उचित समयमा आफैँले जानकारी दिने उनले स्पष्ट पारिन् ।
मृणाल यतिबेला सञ्जय लीला भन्सालीको निर्माणमा बनेको फिल्म ‘दो दीवाने सहर में’ को प्रचारप्रसारमा छिन् । रवि उदयवारले निर्देशन गरेको यो फिल्ममा मृणालको जोडी अभिनेता सिद्धान्त चतुर्वेदीसँग बाँधिएको छ ।
यो एक रोमान्टिक ड्रामा फिल्म हो, जुन आगामी फेब्रुअरी २० देखि सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ ।



